– एमपी सुब्बा
काठमाडौं । पछिल्लो समयका व्यस्त र चर्चित गायक हुन् शिव परियार । यतिखेर शिव गीत रेकर्डिङका अलावा सांगीतिक टुरमा भ्याई–नभ्याई छन् । हालैमात्र युरोप टुरबाट नेपाल फर्केका शिव यतिखेरै आफ्नो ११औं एल्बम ‘सिवालय’ को तयारीमा समेत जुटेका छन् । ०६२ सालतिर ‘फेवातालमा साइँली…’ बोलको गीत हिट भएपछि एकाएक गायनमा चम्किएका शिव भन्छन्, ‘त्यसपछि त मेरो अधिकांश गीत सफल हुँदै गए ।’
‘क्या दामी भो’ ‘अलिकति नजर झुकाएर आऊ’, ‘पागल बनायौ प्रिये’ जस्ता गीत हिट भएसँगै शिवको गायनले ‘टर्निङ प्वाइन्ट’ लिएको हो । नेपाली सांगीतिक क्षेत्रमा विशेषगरी ‘गजल गायक’ का रुपमा चिनिएका शिव भन्छन्, ‘क्या दामी भो’ गीत हिट त भएपछि गायन करिअरमा मात्र नभई मेरो जीवनमा आर्थिक रुपमा समेत टर्निङ प्वाइन्ट लियो ।’
गायक शिवका दर्जनौ गीत छन्, जो अधिकांश श्रोता/दर्शकले रुचाएका छन् । त्यसमा पनि उनले गाएका गजलहरु बढी लोकप्रिय छन् । त्यसैले पनि श्रोताले शिवलाई गजल गायकका रुपमा बढी लिने गरेका छन् । यो कुरा उनी स्वीकार्छन् पनि । शिव भन्छन्, ‘श्रोताले दिएको ट्यागलाई म स्वीकार्छु । तर, म गजल मात्र गाउँदिनँ, सबै किसिमका गीत गाउँछु ।’ ‘नारायण गोपाल युवा संगीत सम्मान’ समेत पाइसकेका शिव यतिखेर आफ्नो संघर्षका दिनहरु पनि सम्झिन चाहन्छन् । उनी भन्छन्, ‘जतिखेर गायक बन्न गाउँबाट सहर छिरेँ, ती दिनहरु मेरा लागि स्मरणीय लाग्छ । अझ श्रोता÷दर्शकको माया मिल्दै गएपछि त विगतका कुराले पनि छुँदै लानेरहेछ ।’
गायक शिवका लागि सन् २०१५ निकै लाभदायिक भएको थियो । तर, उनी त्यो भन्दा बढी २०१६ लाई लाभदायिका बनाउने प्रयत्नमा छन् । २०१५ मा राजधानीमा घर जोडेका शिव भन्छन्, ‘२०१५ मै मेरो दुईपटक युरोप टुर भयो, यसै वर्र्ष घर किनेँ । तर, २०१५ मै दुर्घटनाबाट बालबाल बच्च पनि सफल भएँ । त्यसैले मेरा लागि आधा एकदमै सफल र आधा वर्षचाहिँ असफल जस्तै भयो ।’ यो २०१६ माचाहिँ आफ्नो ११औं एल्बम ‘सिवालय’ रिलिज गर्ने उनको सोच छ । यससँगै एकपटक पुनः नेपाली सांगीतिक क्षेत्रमा तहल्का मच्चाउने योजना शिवको छ । यसबाहेक शिवले केके योजना बनाएका छन् त ? सुनौ उनीसँग मनोरञ्जन नेपाल र स्क्रीन नेपालले गरेको भिडियो कुराकानी :