मिस पूर्वाञ्चलको ताज प्रियङ्का श्रेष्ठले चुमेकी छन् । विराटनगर उपमहनगरपालिकाकी प्रियङ्का श्रेष्ठले पूर्वाञ्चलको ठूलो सौन्दर्य प्रतियोगिता ‘नेपाल आइस मिस पूर्वाञ्चल २०१५’ को उपाधि हात पारेकी छन् ।
मुख्य निर्णायक बिपी डा. विक्रमप्रसाद पाण्डेको प्रश्न थियो, ‘फेसबुकमार्फत साथी बनेकाहरु बिहे गरेका छन् यसलाई तपाईं के भन्नुहुन्छ ?’ प्रियङ्काले तत्काल जवाफ दिइन, ‘मेरो विचारमा बिहे गर्न विचार मिल्नुपर्छ, एकअर्कामा विश्वास र सम्मान हुनुपर्छ, त्यसो भयो भने जुनसुकै सामाजिक सञ्जालबाट पनि मानिसको बिहे हुन सक्छ ।’ यो उत्तरले नै उनलाई मिस पूर्वाञ्चलको ताज दिलायो ।
‘चार्टर एकाउन्टेन्सी’ अध्ययन गरिरहेकी प्रियङ्काले ‘मिस पब्लिक च्याइस टाइटल’ सहित उपाधि जितेर यामाहाको स्कुटी र हङ्कङ यात्राको अवसरसमेत प्राप्त गरेकी छिन् ।
विजेताले होटल एसोसिएसन अफ भेंडेटारको सद्भावना दूत, आसरा सुधार केन्द्र र बुढासुब्बा गोल्डकपको पनि सद्भावना दूत बन्ने अवसर पाइन् । उपाधि जितेपछि खुसी व्यक्त गर्दै उनले सामाजिक कार्यमा लाग्न उत्साह थपिएको बताइन् । उनले मोडलिङसँगै पूर्वको पर्यटन प्रवद्र्धनमा सक्रिय बन्ने इच्छा पनि जाहेर गरिन् ।
त्यस्तै, धरानकी अनु राईले ‘मिस ट्यालेन्ट’सहित फस्ट रनर अप बन्दै नगद रु ४० हजार र बैंकक टुरको अवसर पाइन् । जुम्बा डान्सकी प्रशिक्षक बन्ने लक्ष्य लिएकी अनुले कला क्षेत्रमा नै भविष्य बनाउने बताइन् ।
सेकेन्ड रनर अप बनेकी झापा दमककी प्रमिसा बज्राचार्यले नगद रु ३० हजार र पोखरा भ्रमणको अवसर पाइन् । प्रमिसाले भविष्यमा एयरहोस्टेज बन्ने लक्ष्य लिएकी छन् ।
सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगितामा लेटाङ मोरङकी साइरा मगर मिस चार्मिङ, चन्द्रगढी झापाकी सञ्जु मल्ल ठकुरी मिस पर्सनालिटी, इटहरीकी मिसाल श्रेष्ठ मिस फ्रेन्डशीप, केराबारी मोरङकी सामुना लिम्बू मिस फोटोजेनिक र धरानकी शरुपा थापामगर मिस वेष्ट वाक घोषित भएका छन् । सबै सवटाइटल विजेताले जनही नगद रु १० हजार र उपहार पाएका छन् ।
बुधबार धरान सभागृहमा भएको प्रतियोगितामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा विक्रम श्रेष्ठ, सिजी ब्रुअरीका सिनियर जनरल मेनेजर प्रदीप पुडासैनी, डा राजेन्द्र शर्मा, युरेका स्कुलका प्रिन्सिपल राजेन्द्र गुरुङ, पिएलओ लुब्रिकेन्टसका प्रमुख कार्यकारी अधिकृत भोलेश्वर दुलाल, फोटोग्राफर राजिव श्रेष्ठ, मिस पूर्वाञ्चल २०११ प्रतिभा श्रेष्ठ, नायिका माला लिम्बू, एसएसपी ज्ञानविक्रम शाह र राजविमल श्रेष्ठ निर्णायक थिए । प्रतियोगितामा १४ प्रतिस्पर्धी थिए ।