विद्युत शर्ट भएर मेगास्टार राजेशपायलको घरमा आगलागी, सम्पूर्ण प्रमाणपत्र जलेर खरानी
screennepal
प्रकाशित: २०७६, ३० भाद्र सोमबार
no img

नेपाली गायन क्षेत्रका मेगास्टार तथा चर्चित गायक राजेशपायल राईको शान्तिनगरस्थित घरमा सोमबार आगलागी भएको छ । करिब दिउँसो तीन बजेतिर भएको आगलागीबाट राजेशपायलले अहिलेसम्म सांगीतिक करिअरमा पाएका सम्मान पत्रहरु जलेर नष्ट भएको छ । सिटिङ रुममा विद्युत शर्ट भएपछि भएको सो आगलागीबाट राजेशपायलका भाई गायक तथा संगीतकार राई नविनका प्रमाणपत्र र सम्मान पत्रहरु पनि पूर्णरुपमा जलेर नष्ट भएको छ ।
गायक तथा संगीतकार राई नविनका अनुसार सोमबार दिउँसो करिब ३ बजेतिर आगलागी भएको थियो । उनले टेलिभिजन र इन्टरनेट डिस्कहोमको तार शर्ट भएर आगलागी भएको हुन सक्ने बताए । स्क्रिन नेपालसँग कुरा गर्दै उनले भने, ‘आगलागी हुँदा म घरमा थिइनँ, साइँला दाई माथिल्लो तलामा हुनुहन्थ्यो । आगलागीको कारण विद्युत शर्ट नै हुनसक्छ ।’ उनले अहिलेसम्म दाई राजेशपायल र आफूले पाएको सम्मान तथा अवार्डहरु जलेर नष्ट भएको बताए ।
‘धन्न चाँडो थाहा पाएर मानवीय क्षति भएन’ उनले भने, ‘मानवीय क्षति नभएपनि अहिलेसम्म कमाएको सम्मानहरु जलेर खरानी भएको छ ।’ आगलागी भएको थाहा पाएपछि प्रहरी आएर आगो नियन्त्रण गर्न सहयोग गरेको राई नविनले बताए । आगलागीबाट के कति क्षति भयो भन्ने पूर्ण विवरण आएको छैन । राई नविनले भने, ‘प्रहरी प्रशासनले मुचुल्का गरेर लगेको छ, भोलीसम्ममा थाहा हुन्छ ।’ गायक राजेपायल राई यतिखेर सांगीतिक कार्यक्रमका क्रममा बेलायतमा छन् । घरमा आगलागी भएको बारे दाई राजेशपायलसँग कुरा भइसकेको राई नविनले बताए ।

Comments