जब गुन्जिए ‘कौरा सम्राट’
screennepal
प्रकाशित: २०७५, २३ मंसिर आईतवार
no img

काठमाडौं । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार फरक किसिमको रौनक देखियो । मंसिरे चिसो बढ्दै गर्दा दर्शकको भीड पनि बढ्दैथियो । जहाँ गुरुङ भेषभूषामा सजिएका दर्शकदीर्घाको भीडले कुनै रोधी जम्दै गरेको आभाष दिलाएको थियो । जब कौरा र चुट्का गुन्जिन थाल्यो, तब देखिए गायक दुर्गा गुरुङ ।
हो, शनिबार कौरा गायनमा चिनिएका गायक दुर्गा ‘एकल साँझ’मा उत्रिए । तमु (गुरुङ) समाज तनहुँ काठमाडौंको आयोजना रहेको ‘दुर्गा गुरुङ एकल साँझ’ले माहोल कौरामय बनेको थियो ।


गीति कलाकारिताको २५ वर्षे यात्रामा पहिलोपटक एकल साँझमा उत्रिएका दुर्गाले कार्यक्रमको अधिकांश समयमा मौलिक भाका कौरा (चुड्का) गीतहरू प्रस्तुत गरे । कौरा गण्डक क्षेत्रमा बसोबास गर्ने गुरुङ, मगर, दुरा, दराई समुदायमा प्रचलित मौलिक भाका हो ।
निर्धारित समयभन्दा केही ढिलो स्टेज उक्लिएका दुर्गाले आफ्ना समुदायको तमु ल्होछार (नयाँ वर्ष) सम्बन्धी ‘खैमो ल्होसार’ (आयो ल्होछार) गीतबाट प्रस्तुति सुरु गरेका थिए । त्यसलगत्तै उनले लोकपप रोधी घरैमा एल्बमबाट ‘चिट्ठी लाने ए हुलाकी दाइ, रोधी बस्न आउँछ रे भन्दिनु यानीमायालाई’ बोलका गीत गाए ।


कौरा गीतको संरक्षण, संवद्र्धन र प्रचारप्रसारको उद्देश्यले गरिएको एकल साँझमा दुर्गाले करिब तीन घण्टा निरन्तर गाएका थिए । त्यसक्रममा उनले आफ्नै सिर्जना, स्वर, रेशम गुरुङ, प्रेम गुरुङ, माया गुरुङ, मानबहादुर बराल मगरलगायत सर्जकका सिर्जना सुनाए । जसमा ‘झिल्के भेना’, ‘गैरागाउँ सिरानचोक’, ‘सोलु जुबु गाउँ’, ‘तिम्रै आँगनमा’, ‘आकाशै उज्यालो’, ‘ए कान्छी’, ‘रिसिङ डाँडा रमाइलो’, ‘आयौँ हामी’लगायतका गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संगीत संयोजनमा दुर्गालाई राजु गुरुङ, टेक गुरुङ, प्रकाश गुरुङ, भीम दुरा, तेजेन्द्र दुरा, राज गुरुङ, शर्मिला गुरुङ, दुर्गा गुरुङ तमुस्यो, टीका पुन, अनु गुरुङ, वविता गुरुङ, भीमु गुरुङलगायत दर्जन बढी कलाकारले साथ दिएका थिए ।
दुर्गालाई हौसला बढाउन तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठ, प्रदेशसभा सांसद रामबहादुर गुरुङ, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङलगायत विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधिहरू र दर्शकले हल भरिएको थियो । कार्यक्रममा दुर्गालाई ‘चुड्का (कौरा) सम्राट’ र गीतकार, तथा संगीतकार रेशम गुरुङलाई चुड्का सर्जक सम्राट घोषणा गरिएको थियो ।

Comments