त्यो दिन फेसनमय बन्यो बुटवल !
screennepal
प्रकाशित: २०७५, १० मंसिर सोमबार
no img

बुटबल । प्रदेश ५को राजधानी बुटवलमा पहिलोपटक फेसन शो गरिएको छ । पेजेन्ट नेपालको आयोजनामा भएको कार्यक्रममा मौलिक सांस्कृतिक तथा आधुनिक फेसनलाई समेटेर शो देखाइएको थियो ।
बुटवलको मिलन चोकस्थित एसियन भिलेज रिसोर्टमा आयोजना भएको उक्त फेशन शोका लागि अडिसन राउण्डबाट छनोट भएका ४५ जना महिला तथा पुरुष मोडलहरु बिभिन्न थिममा याम्पमा उत्रिएका थिए । एकहप्तासम्म प्रशिक्षणपश्चात मोडलहरु स्टेजमा उत्रिएका थिए ।
आविष्कार खनाल र स्मारिका तामाङले सञ्चालन गरेको कार्यक्रममा कोरियोग्राफर स्वस्तिका कार्कीको कोरीयोग्राफीमा स्टेजमा उत्रिएका मोडलहरुबीच नायक श्रीदेव भट्टराई, नायिका पूर्णिमा लामा र कलाकार दीपक लक्की शोस्टपर्स थिए ।


कार्यक्रममा नेपालका चर्चित फेसन डिजाइनरहरुको डिजाइनहरु प्रस्तुत गरिएको थियो । मौलिक सांस्कृतिक तथा आधुनिक फेसनलाई समेटेर देखाइएको उक्त फेसन शोमा कल्चलर ड्रेस, वेस्टर्न ड्रेस, फेन्सी ड्रेस, गाउन तथा ढाका पहिरनमा मोडलहरुले शोलाई रंगीन बनाएका थिए ।
पेजेन्ट नेपालका अध्यक्ष राज लुइँटेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सांसद निर्मला क्षेत्रीले कार्यक्रममा बोल्दै सकारात्मक कुरालाई प्राथमिकताका साथ अगाडी बढाउनुपर्ने र फेसनबाट नेपाललाई विश्वमा चिनाउन सकिने बताइन् । कार्यक्रम सपोर्टरको रुपमा रहेर इभेन्ट माकेर्टिङ मेनेजर निता श्रेष्ठ, अभिषेक रावल, गिरिराज बन्जाडे, टिका भुसाल, नरहरी कार्कीलगायतले दिएको साथ र सहयोगले कार्यक्रम पहिलोपटक भए पनि सफल भएको कार्यक्रम संयोजक तथा पेजेन्ट नेपालकी सिईओ ममता बस्नेतले बताइन् ।


कार्यक्रममा सहभागी हुन राजधानीबाट इभेन्ट अर्गनाइजर डेभिल सिंह राजपुत, सञ्चारकर्मी माधवराज खरेल, सौन्दर्य व्यवसायी सुसिला थापा, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, मोडल आशा थापा, प्रज्ञा ढुंगेललगायत दर्जनभन्दा बढि कलाकर्मीहरु बुटवल पुगेका थिए । कार्यक्रममा गायक ध्रुव बिस्को, नितु कोइराला, सपन श्रेष्ठ, विनोद ढकाल, दीपक लक्की, पुर्णिमा लामा, सावित्री जोशी, नन्दा बस्याल, इन्दिरा भटटराईलगायत स्थानीय कलाकारहरुले गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए

Comments