बास्कोटालाई विशिष्ट गीति पुरस्कार
screennepal
प्रकाशित: २०७५, १७ कार्तिक शनिबार
no img

काठमाडौं । बरिष्ट संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति शम्भुजीत बासकोटा ‘अनेसास राष्ट्रकवि माधव घिमिरे विशिष्ट गीत पुरस्कार–२०७५’ बाट पुरस्कृत भएका छन् ।
शुक्रबार साँझ काठमाडौंमा एक समारोहबीच अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का तर्फबाट २१ हजार १०० रुपैयाँ सहित बासकोटालाई पुरस्कृत गरिएको हो ।
सोही कार्यक्रममा अनेसास विशिष्ट सम्मान २०७५ बाट संस्कृतिविद चेनत कार्कीलाई सम्मानित गरियो । कार्यक्रममा अनेसास योगदान सम्मानबाट कवि तोया गुरुङ र साहित्यकार डा. रामदयाल राकेशलाई सम्मान गरियो ।
सोही कार्यक्रममा अनेसास नवरत्न सम्मानबाट गीतकार एवम् प्राज्ञ उन्नती बोहरा ‘सिला’, गायिका हरिदेबी कोईराला, कवि लक्ष्मी माली, युवा नाट्यकर्मी सम्पदा मल्ललाई सम्मानित गरियो ।
कार्यक्रममा प्राज्ञ एवं गीतकार उन्नती बोहरा सिलाको गीति पुस्तक ‘फर्की आउ शान्ति तिमी’ र कथाकार अर्जुन थापाको कथासँग्रह ‘नाम मात्रको लोग्ने’ को बिमोचन अनेसासका अध्यक्ष राधेश्याम लेकाली, बरिष्ट संगीतकार शम्भुजीत बासकोटा, संस्कृतिविद् चेतन कार्की, कथाकार माया ठकुरीले लगायतले गरे ।
अनेसास बोष्टन च्याप्टरले हालै आयोजना गरेको कविता प्रतियोगितामा प्रथम भएका छन्द कविता तर्फका हरि भट्ट, गद्य कविता तर्फका सुदर्शन पौडेल र गजल तर्फका बिजेता पुरु लम्साललाई जनही २३ हजार २ सय रुपैयाँ सहितको पुरस्कार प्रदान गरियो ।
यस्तै अनेसास वर्ष उत्कृष्ट पुस्तक पुरस्कार ४० हजार रुपैयाँ सहित उपन्यासतर्फ पद्मावती सिंहलाई प्रदान गरियो ।
जनही २० हजार रुपैयाँ सहितको वर्षको उत्कृष्ट पुस्तक पुरस्कार कविताबाट रामजी ज्ञवाली, मुक्ति प्रसाद उपाध्याय, सागर मुखियालाई र कथातर्फ नरेन्द्रराज पौडेललाई प्रदान गरियो ।
कार्यक्रममा अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीले सम्बन्धित पुरस्कार र पुरस्कृत श्रष्टाबारे कार्यक्रममा प्रकाश पारे । अनेसासको यस पटक अमेरिकामा सम्पन्न सम्मेलनमा सहयोग पर्याउने विभिन्न व्यक्ति तथा मिडियालाई कार्यक्रममा प्रशंसापत्र समेत प्रदान गरियो ।

Comments