हालै थाइल्याण्डको बैंककमा सम्पन्न बालबालिकाको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एशिया प्यासिफिक प्रिन्स एन्ड प्रिन्सेस–२०१८’मा एशियाका ३५ देशका बालबालिकालाई पछि पार्दै नेपालका युनिक पराजुलीले ‘एशिया प्यासिफिक जुनियर प्रिन्स–२०१८’को उपाधि जितेका छन् ।
राजर्षी स्कुल काठमाडौं कक्षा ४ का युनिकले गत वर्ष ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस’मा उपाधि जितेकी थिइन् । यही प्रतियोगितामा सिनियर प्रिन्सतर्फ १३ वर्षीय प्रनिश खड्काले सेकेन्ड रनरअपको उपाधि पाए । काठमाडौंमा इभेन्ट बेटर ग्यालेक्सीले आयोजना गरेको ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस–२०१८’मा उनी सिनियरतर्फका बिजेता बनेका थिए ।
थाईल्याण्डको फुकेटमा सम्पन्न अन्तराष्ट्रिय बालबालिकाको प्रतियोगिता ‘इन्टरनेशनल किड्स अफ द इयर–२०१८’मा ग्यालेक्सी स्कुल ज्ञानेश्वर, काठमाडौंकी कक्षा ३ की ८ वर्षिया बालिका रिब्या तण्डुकारले सेकेन्ड रनरअप उपाधि हासिल गरेकी छन् । पेन्टिङ र खेलकुदमा रुची राख्ने रिब्यले अवार्ड पाउँदा खुसी लागेको बताएकी छन् ।
‘इन्टरनेशनल किड्स अफ द इयर–२०१८’मा सिनियरतर्फ पलिश्ता महर्जन पनि सेकेन्ड रनरअप भइन् । ११ वर्षीया पलिश्ता ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस–२०१८’मा सिनियरतर्फकी बिजेता हुन् । यी बालबालिकाले अन्तर्राष्ट्रिय क्षेत्रमा अवार्ड जितेर नेपालको नाम राख्नुलाई खुसीको कुरा भएको इभेन्ट बेटर ग्यालेक्सीका अध्यक्ष धिरज तण्डकारले बताए ।