चौथो संस्करणको ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’का विभिन्न ३८ विधामा उत्कृष्ट पाँचको मनोनयनमा परेकालाई प्रमाणपत्र वितरण गरिएको छ ।
राजधानीको रातोपुलस्थित रकहाउस क्याफेमा एक कार्यक्रमबीच उत्कृष्ट पाँचका कलाकारलाई प्रमाणपत्र वितरण गरिएको हो ।
उत्कृष्ट पाँचलाई सुन्दरादेवी सन्देश म्युजिक अवार्ड–२०७५का अध्यक्ष किरण अधिकारी, नेपाल चलचित्र पत्रकार संघ उपाध्यक्ष गीता अधिकारी, साहित्यकार÷गीतकार राम अविरल, जुनकिरी रोधी क्लवकी सञ्चालक धनकुमारी थापा ‘शरु’, साकुरा कन्सलटेन्सीका अनुजकुमार श्रेष्ठलगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
लोक, आधुनिक, तामाङ सेलो, पपसहित गीत, सङ्गीत, शब्द, म्युजिक भिडियोलगायतमा उत्कृष्ट पाँचको मनोनयन केही समयअघि सार्वजनिक गरिएको थियो । अवार्ड आगामी २६ जेठमा काभ्रको बनेपामा विशेष कार्यक्रम गरेर प्रदान गरिने अध्यक्ष किरण अधिकारीले जानकारी गराए ।