सलमान नेपाल आउने कार्यक्रम स्थगित, यस्तो छ वास्तविक कारण
screennepal
प्रकाशित: २०७४, १९ फाल्गुन शनिबार
no img

स्क्रिननेपाल डटकम :
लामो समय देखि प्रचार प्रसार गरिएको ‘दबंग द टुर’ अन्तर्गत बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण तत्कालको लागि स्थगित गरिएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै स्थगित भएको बलिउड सुपरस्टार सलमान खानको नेपाल कन्सर्ट अब वर्ष २०७५ को बैशाख पहिलो साता हुने भएको छ ।

नेपालको आयोजक संस्था ओडिसी इन्टरटेन्मेन्टले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत यो कुराको औपचारिक जानकारी दिएको हो । ‘दबंग द टूर नेपाल’ विशेष कारणले स्थगित भएको फेसबुकमा उल्लेख गरिएको छ । करिब १५ करोड लागतको यो कार्यक्रममा करिब १० करोड हाराहारी लगानी भइसकेको आयोजक पक्षले बताएको छ । यस्तै आयोजन टिमले बैशाखमा हुने कार्यक्रमको दिन तय भएपछि संचार माध्यम र सोसल मिडिया मार्फत सबैलाई जानकारी गराउने कुरा पनि बताएको छ ।

फेसबुकमा टिकट लिइसकेका दर्शकले त्यही टिकटबाट कार्यक्रम हेर्न पाउने बताइएको छ । आयोजक संस्थाका अनुसार टिकट बिक्रि जारी राखिने छ ।कार्यक्रम हुने निश्चित भएको भन्दै केही हप्ता अगाडि सलमानका भार्इ तथा आयोजक समेत रहेका सोहेल खानले काठमाडौंमा पत्रकार सम्मेलन समेत आयोजना गरेका थिए । कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने बताइएको थियो ।

सलमानले आफू नेपाल आउन लागेको जानकारी आफ्नो आधिकारिक फेसबुक र ट्विटरबाट समेत दिएका थिए । सलमानले ‘दबंग द टुर’ नेपालका लागि भनेर अग्रिम ५ करोड रुपैयाँ बुझिसकेको र आयोजक संस्थाले करीब ५ हजारभन्दा बढी टिकट बिक्रि गरिसकेको जानकारीमा आएको छ ।

Comments