काठमाडौं, १४ पुस । गाउँका युवा खाडी गएर धन कमाउने र ऋण तिर्ने अनि सुखी परिवार जिऊँ भन्ने सपना बोकेर विदेशिएका हुन्छन् । उनीहरुको सपना एकातिर हुँदाहुँदै घरमा परिवारको जिम्मेवारी लिएकी श्रीमती बालबच्चा छाडेर अर्कैसँग गइदिँदाको पीडाभित्र धेरै युवाले बेहोरिरहेको यर्थात लुक्क सक्दैन । तिनै अपवादका घटनाहरुलाई गायक दिनेश दाहाल क्षेत्री ‘धनेन्द्र’ गीतमा ल्याएका छन् ।
लभ म्यारिज गरेर ल्याएकी श्रीमती अनि बच्चा, आमा छाडेर विदेश हिँडेका दिनेशको पनि यतिखेर सर्वश्व गुमेको अवस्था छ । त्यही यथार्थ घटनालाई गीतमा उतार्दै गायक दिनेशले आफ्ना अनुभव र पीडालाई सबैसामु पोख्न तयार भएका छन् ।
गायक दिनेश दाहाल क्षेत्रीको स्वरमा रहेको गीत ‘निष्ठुरी’ एल्बममा रहेको बैगुनीलाई सम्झी रुने दिन यतिबेला सार्वजनिक भएको छ । चर्चित गायक राजन ठकुरीको संगीत र पत्रकार सुमन बैरागीको शब्दरचना रहेको गीत निष्ठुरीभित्र पनि प्रवास जाँदा घरबास उठाउनेकै कथा समावेश गरिएको छ । यस गीतको म्यूजिक भिडियोमा भने लोकप्रिय मोडल नारायण ढकाल, प्रभा पौडेल र अवतार शाक्यको अभिनय रहेको छ ।
सागर गौतमको छायाँकन र दिनसन शाहको सम्पादन रहेको म्यूजिक भिडियोलाई गीतकार सुमन बैरागीले नै निर्देशन गरेका छन् । भिडियोको पोष्ट प्रोडक्सन श्रीराज इन्टरटेनमेन्टले गरेको हो भने अडियो भिडियो उत्पादन एवं बजार व्यवस्थापन भने शुभकामना मिडिया सोलुसनले गरेको हो ।