काठमाडौं, ८ भदौ । लामो समयदेखि फेशन, मोडलिङ र सौन्दर्यसम्बन्धि समाचार सम्प्रेषण गर्दै आएकोे फेशन संसार डटकमले ‘टप मोडल नेपाल–२०१७’ आयोजना गर्ने भएको छ । यस प्रथम फेसन प्रतियोगिताका लागि १० भदौ अर्थात् शनिबार राजधानीमा पहिलो अडिसन हुँदैछ ।
फेसनसम्बन्धिको चासो अनि रुचिलाई अध्ययन तथा अनुगमनपछि प्रतियोगिता गर्न लागेको आयोजक संस्थाले जनाएको छ । आयोजकका अनुसार फेसन र मोडलिङको क्षेत्रमा आउन चाहने नेपाली युवा युवतीको लागी एउटा राम्रो बाटो पहिचान गराउने प्रतियोगिताको उद्देश्य हो ।
फेशन, मोडलिङ र सिनेसंसारप्रतिको युवायुवतीको बढ्दो उत्साहलाई कदर गर्दै सौन्दर्य प्रतियोगिताको आयोजना गरिएको फेसन संसारका निर्देशक सुरक्षा भट्टराईले बताइन् । उनले भनिन्, ‘बिभिन्न सोन्दर्य प्रतियोगिता र इभेन्टको मेनेजमेन्ट र अवलोकनपश्चात यो प्रतियोगिता गर्न तम्सिएका हौं ।’
अडिसनबाट छानिएका प्रतिस्पर्धीलाई आत्मविश्वास, पब्लिक स्पिकिङ, मोडलिङसम्बन्धि तालिम तथा बिभिन्न मोटिभेसन क्लास, सौदर्यसम्बन्धि तालिम, स्वास्थ्यसम्बन्धि तालिम दिइने जनाइको छ । साथै उनीहरुलाई विभिन्न सामाजिक कार्य तथा क्षेत्रको भ्रमण र विशेष क्लासको पनि व्यवस्था गरिएको बताइएको छ ।