काठमाडौं, १९ साउन । यही २२ गते सम्पन्न हुन गइरहेको म्यूजिक खबर म्यूजिक अवार्डमा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गर्न लागिएको छ । छैटौं संस्करणको यस म्यूजिक खबर म्यूजिक अवार्डको अवसरमा विभिन्न ३४ विधाका स्रष्टा एवं सिर्जनालाई अवार्ड प्रदान गरिनुका साथै वरिष्ठ गीतकार रत्नशमशेर थापालाई म्यूजिक खबर दीर्घ साधना सम्मान–२०७४ प्रदान गरिन लागिएको छ । थापालाई २५ हजार ५ सय ५५ नगदसहित सम्मान गर्न लागिएको हो ।
वि.सं. २००८ सालबाटै अर्थात् बाह्रवर्षे उमेरदेखि नै कविता लेख्न थाल्नुभएको रत्नशमशेर थापाले वि.सं. २००९ सालबाटै गीत पनि लेख्न थाल्नुभएको हो । उहाँका लामा कविता, नाटक, कथा पनि छापिएका छन् तर पनि उहाँ छोटा सिर्जनामै रमाउने गर्नुहुन्छ । २०२० सालमा ओभानो सिउँदो र २०२६ सालमा रुझेको परेला गीतसङ्ग्रह प्रकाशित छन् ।
त्यस्तै, २०३६ सालमा चकलाभरिको घाम र २०६० सालमा ताराका काँचा रङ नामक कवितासङ्ग्रह प्रकाशित छन् । वि.सं.२०४२ मा ’दोभान’ शीर्षकमा उहाँका गीतहरूको एलबम निकालेको थियो म्युजिक नेपालले । हजारौं गीत लेखेर नेपाली गीतसंगीत उद्योगमा सदाबहार गीतकारको छवि बनाउनुभएका उहाँलाई छैठौं म्यूजिक खबर म्यूजिक अवार्डमा दीर्घ साधना सम्मान प्रदान गर्न लागिएको हो ।
त्यसैगरी सुमधुर स्वरका धनी गायक शिशिर योगी र गायिका सत्यकला राईलाई म्यूजिक खबर दशकको सम्मान २०७४ प्रदान गर्न लागिएको हो । सारङ्गी त रेटे पनि, मानिस खोजिरहेछु जस्ता सयौं कालजयी गीतमा स्वर दिइसकेका शिशिर योगी संगीत सिक्ने विद्यार्थीका लागि एउटा स्कुल बन्नुभएको छ ।
गीतसंगीतको क्षेत्रमा एक दशकभन्दा लामो समय सक्रिय रही गीतसंगीतमा पु¥याउनुभएको योगदान अतुलनीय छ । त्यस्तै आइडी कार्डैले, ढडिया थापिदेउ, तिमी मसँग नबोल्ने अरे, इन्टरनेटैमा जस्ता सयौं गीतमा आफ्नो सुमधुर आवाज दिएर गीतसंगीतको क्षेत्रलाई पु¥याएको अतुलनीय योगदान अतुलनीय छ । योगी र राईलाई छैठौं म्यूजिक खबर म्यूजिक अवार्डमा म्यूजिक खबर दशकको सम्मान प्रदान गर्न लागिएको हो ।
त्यसैगरी पछिल्लो समयमा बाल आवाजलाई बुलन्द पार्दै अघि बढेका प्रतिभा बेगेन्द्र बुढालाई यस वर्षको म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान प्रदान गरिन लागिएको हो । ताम्रपत्र, ट्रफी र दोसल्ला ओढाएर सम्मान गरिनेछ ।
त्यसैगरी यस वर्षको म्यूजिक खबर युवा प्रतिभा सम्मान गीतकार एवं संगीतकार पदम रोकायालाई प्रदान गरिन लागिएको छ । ६० सालबाट निरन्तर लोकदोहोरी, आधुनिक गीत लेखन एवं संगीत सिर्जनामा लागिपरेका पदम रोकायाका गीत जति चर्चामा आए आफू भने ओझेलमा परिरहनु भयो । ताम्रपत्र, ट्रफी र दोसल्ला ओढाएर सम्मान गरिनेछ । जुम्लामा जन्मिएर नेपाली गीतसंगीतलाई कर्मथलो बनाउँदै आउनुभएका रोकाया युवापुस्तामा राम्रा सर्जकका रुपमा परिचित छन् ।
‘म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार’बाट संचारकर्मी डा.नवराज लम्साललाई पुरस्कृत गर्न लागिएको छ । डा.लम्साललाई ५५५५ नगद राशिसहित पुरस्कार प्रदान गरिनेछ । रेडियो नेपाल, बीबीसी रेडियो जस्ता ठूला मिडियामा आफ्नो स्वरको माध्यमबाट संचार क्षेत्रमा उल्लेख्य योगदान पु¥याउँदै आउनुभएका डा.लम्सालले नेपाली गीतसंगीतमा उदाहरणीय कार्य गर्दै आउनुभएको छ । नेपाली साहित्य, गीत संगीतलाई केन्द्रविन्दूमा राखेर संचार क्षेत्रमा अहोरात्र खटिरहने संचारयोद्धा हुनुहुन्छ । छैठौं म्यूजिक खबर म्यूजिक अवार्डमा म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो ।
त्यसैगरी नेपाली गीतसंगीतमा आधा दशकभन्दा लामो समय खर्च गरिसक्नुभएका बुद्धिमान घिसिङलाई यस वर्षको म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गर्न लागिएको छ । उहाँले लोकदोहोरी गीत लेखन एवं गायनमा सक्रिय रहँदै आधुनिक गीततर्फ पनि निरन्तर कार्य गर्दै आउनुभएको छ । प्रवासमा रहेर घरबासको गीतसंगीतमा लगानी गर्दै आउनुभएका घिसिङलाई यस वर्षको म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गर्न लागिएको हो ।