काठमाडौं, १८ असार । नवौं छायाँछबी डि सिने अवार्ड–२०७४ मा यसपटक ‘छायाँछबी लाईफटाईम लिजेन्ड्री अवार्ड’बाट संगीतकार शम्भुजीत बासकोटालाई सम्मान गरिने भएको छ । चार दशक भन्दा लामो समयदेखि सगीतमा योगदान पु¥याएकाले बरिष्ठ बासकोटालाई सम्मान गर्न लागिएको आयोजकले जनाएको छ ।
यस्तै ‘छायाँछबी चलचित्रकर्मी रजत सम्मान–२०७३’बाट पुरुषतर्फ अभिनेता सरोज खनाल र महिलातर्फ अभिनेत्री रुपा रानालाई सम्मानित गरिने भएको छ । तीन दशकभन्दा लामो समयदेखि नेपाली चलचित्रबृत्तमा क्रियाशिल यी दुबैले चलचित्र बिजय पराजयबाट अभिनययात्रा सुरु गरेका हुन् ।
यस्तै यस वर्षको ‘छायाँछबी चलचित्र पत्रकारिता पुरस्कार–२०७४’बाट पत्रकार लक्ष्मण सुवेदीलाई पुरस्कृत गरिने भएको छ । डेढ दशकदेखि पत्रकारितामा निरन्तर लागेका सुवेदी चलचित्र तथा मनोरञ्जन विटमा कलम चलाउँछन् । हाल नयाँ पत्रिकामा बरिष्ठ उपसम्पादकका रुपमा कार्यरत सुवेदीलाई ९ हजार ९ सय ९९ रुपैयाँ र ताम्रपत्रबाट पुरस्कृत गरिने जनाइएको छ ।
आगामी २२ असारमा हेटौंडाका ओम्याक्स सिनेमा हलमा ‘नवौं डि सिने अवार्ड–२०७४’ आयोजना गरिँदैछ । सोही अवार्ड समारोहमा यी पुरस्कार प्रदान गरिने निर्णय छायाँछबी क्रियसनका अध्यक्ष शान्तिप्रियले बताए ।