निरन्तर लेखिरहने छु : जाङबु
screennepal
प्रकाशित: २०७१, २७ असार शुक्रबार
no img

दशकयता पत्रकारिताको संसारमा रमाउँदै आएका जाङबु शेर्पा गीति संसारमा हराउन आएका छन् । ७ वर्षदेखि अमेरिकालाई कर्मथलो बनाइरहेका सोलुखुम्बुका यी युवा पत्रकार हालै गीति एल्बम ‘माई वड्स’ अर्थात् ‘मेरो शब्द’ लिएर आएका छन्, जसमार्फत उनी गीतकारको रूपमा चिनिएका छन् । शेर्पा केही साताअघि एल्बम सार्वजनिक गर्नकै लागि अमेरिकाबाट नेपाल आएका हुन् । एल्बम सार्वजनिक गरेपछि शेर्पाले भने, ‘स्कुल पढ्दैखेखि गीत लेख्थे । गीत लेख्नु सौख पनि हो । बल्ल सौख पूरा गरेको छु ।’ अमेरिकामै गीत तयार पारेर एल्बम ल्याएका शेर्पाले आफ्ना गीतहरूलाई नेपाल र अमेरिकाबीचको भावनात्मक सम्बन्ध भएको बताए । जाङबु शेर्पासँग गरिएको संक्षिप्त कुराकानी ।

कहिलेदेखि गीत लेख्न थाल्नुभएको नि ?
लेख्न त स्कुल पढ्दैदेखि लेख्थेँ । नियमित लेख्न थालेको चाहिँ ७÷८ वर्ष भयो । पत्रकारिता गरिरहँदा पनि गीत लेख्ने गर्थें । तर, समयको अभावले एल्बम निकाल्न सकेको थिइनँ । बल्ल अहिले रहर पूरा गरेको छु ।’
रहर पूरा गर्नकै लागि गीत लेख्न थाल्नुभएको हो ?
त्यति मात्र होइन, गीति लेखन मेरो सौख पनि हो । अर्को कुरा गीतबाट भावना पोख्न सजिलो हुने भएकाले पनि गीत लेख्न थालेको हुँ ।
आठ वर्षअघि नै गीत लेख्नुहुन्थ्यो । तर, एल्बम त भर्खरै ल्याउनुभयो नि ?
त्यखिेर एल्बम निकाल्ने मनशाय नै भएन । तर, गीतकारको छवि बनाउनका लागि एल्बम निकाल्नै पर्दोरहे छ । एल्बम निकाल्दा कृति पनि हुने र छवि पनि बन्ने रहेछ ।
तपाईंको छवि अब गीतकार कि पत्रकार ?
पत्रकार नै हुँ । निरन्तर ११ वर्षयता पत्रकारितामै छु । अब भने गीतकारको रूपमा पनि चिनिन चाहन्छु । समग्रमा भन्नुपर्दा म पत्रकार गीतकार हुँ ।
‘माई वड्स’ बाट के अपेक्षा गर्नुभएको छ ?
यस एल्बमबाट गीतकारको छवि बनाउन सक्छु÷सक्दिनँ, त्यो भन्न सक्दिनँ । यसको जिम्मा दर्शक÷श्रोतालाई दिएको छु । एल्बम आएको धेरै पनि भएको छैन । प्रतिक्रिया राम्रै पाइरहेको छु । यस्तै, हौसला तथा प्रोत्साहन पाइरहेँ भने निरन्तर लेखिरहने छु ।

Comments