काठमाडौं, २५ जेठ । ‘मनमा सधैं उर्ली गंगा’ बोल गीत हिजोआज चर्चामा छन् । यस गीतलाई गायिका दीपा सुहाङले गाएकी हुन् । मनमा गायिका बन्ने रहर उर्लेपछि पाँचथरको सुभाङबाट तीन वर्षअघि राजधानी छिरेकी दीपाले आफ्नो गायन इच्छालाई प्राथमिकताका साथ लिएकी छन् । पछिल्लो आफ्नो गीत ‘मनमा सधैं उर्ली गंगा’जस्तै सानैमा गायिका बन्ने इच्छा मनमा उर्लेपछि राजधानी छिरेको बताउने दीपालाई स्वर र सुन्दरताले पनि उस्तै साथ दिएको छ । उनले छोटो समयमै दर्जनभन्दा बढी गीतमा स्वर दिन पनि भ्याइसकेकी छन् । उनी भन्छिन्, ‘सानैदेखि गायिका बन्ने इच्छा भएकाले मिहिनेत गरिरहेकी छु ।’
दीपाको लक्ष्य भनेको एक कुसल गायिका बन्ने हो । जसका लागि जस्तोसुकै मिहिनेत र संघर्ष गर्न पनि आफू तयार रहेको दीपाले बताइन् । उनलाई संघर्षसँग डरसमेत छैन । नेपालको पूर्वी पहाडी जिल्ला पाँचथरबाट यहाँ आएर गायन करिअर बनाउन संघर्ष गरिरहेकी दीपा भन्छिन्, ‘मलाई संघर्ष गर्नबाट डर लाग्दैन । संघर्ष र मिहिनेत गर्नकै लागि त राजधानी आएको हुँ अनि किन डराउने ?।’
राजधानीमा आएपछि दुई वर्ष श्रीसंगीत पाठशालामा औपचारिक संगीत प्रशिक्षण लिएकी दीपा भन्छिन्, ‘अहिले पनि सिकिरहेकी छु । सिक्दै जाने हो र एकदिन आफ्नो लक्ष्यमा पुग्ने सोच छ ।’ लोक, आधुनिकदेखि लिम्बु भाषाका गीतहरु समेत गाउँदै आएकी दीपाका रेकर्ड भएका गीतमध्ये दुईटा मात्र बाहिर आएको छ । तीमध्ये एक हो, ‘मनमा सधै उर्ली गंगा…’ जुन गीत धेरै श्रोताले रुचाएका छन् ।
आफ्ना रेर्कड भएका गीतहरु श्रोतामाझ आएपछि आफूलाई संघर्ष गर्न थप सजिलो हुने उनको बुझाइ छ । उनी भन्छिन्, ‘मैले अहिलेसम्म एक दर्जनभन्दा बढी गीत गाइसकेकी छु । जुन गीतहरु श्रोतामाझ आएपछि श्रोताले गायिका भनेर चिन्न थाल्नेछन् । त्यसपछि मलाई अलिक सजिलो होला ।’
दीपाको गायिका बन्ने अभिलाषा सानैमा जाग्नुको प्रेरणा भने रेडियो हो । दीपा भन्छिन्, ‘सानोमा म धेरै रेडियो सुन्थे । मेलापात, घासपात र वनजंगल जाँदा समेत रेडियो मेरै साथमा हुन्थ्यो । त्यो समयमा रेडियो मेरो साथी नै थियो । रेडियोमा बजेको गीत सुन्दा म पनि गायिका हुन पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।’
त्यो समयमा दीपा सेन्टिमेन्टल गीत सुन्थिइन् । तारादेवी, अरुणा लामा, भक्तराज आचार्य जस्ता कलाकारको गीत सुनेर गायिका बन्ने लक्ष्य बनाएकी दीपा आफू पनि सेन्टिमेन्टल गीत नै गाउन बढी रुचाउँछिन् । उनी भन्छिन्, ‘गाउन त सबै प्रकारका गाउन सक्छु । तर, मलाई गाउन मनपर्ने चाहीं सेन्टिमेन्टल हो ।’ अहिलेसम्म जति गीत गाएका छन् । ती गीतहरु आफूले चाहेजस्तो नभएको पनि दीपाले सुनाइन् ।
उद्घोषण तालिम समेत लिँदै आएकी दीपाले केही गीतमा मोडलिङ पनि गरेकी छन् । मोडलिङ र अभिनयलाई पनि आफ्नो रुचि भित्र राखेकी दीपा भन्छिन्, ‘पहिलो प्राथमिकता गायन हो । त्यसपछि अभिनय ।’ दीपाको तत्काल एल्बम निकाल्ने सोच छैन । हुन त सिंगल ट्रयाकको जमानमा छ अहिले । तर, दीपाले तत्काल एल्बम नल्याउनको कारणचाहिँ यो होइन । उनी भन्छिन्, ‘भर्खर त सिक्दैछु । जब सिकेर अब गाउन सक्छु भन्ने लाग्छ अनि मात्र आफ्नो एल्बम निकाल्ने हो ।’
आफ्नो एल्बमको तयारी नगरेपनि अहिले फाट्टफुट्ट गीत गाउन पाइरहेको उनले बताइन् । ‘मलाई गाउनलाई खाली भएको छैन’, दीपाले भनिन्, ‘यो नै अहिले मेरो लागि ठूलो कुरा हो ।’ सुरुमा राजधानी छिर्दा एक्लै संघर्षको मैदानमा उत्रन हिम्मत गरेकी दीपालाई हिजोआज त झनै साहस बढेको छ । उनी भन्छिन्, ‘म एक्लै अगाडि बढ्न सक्छु भन्ने ममा हिम्मत छ ।’ यस्तो आत्मविश्वासले दीपालाई अगाडि बढ्ने थप सामथ्र्य मिलेको छ ।
नेपाली गायन क्षेत्रमा उदाउँदो प्रतिभाको रुपमा देखिएकी दीपाको भविक्ष्य उज्वल पनि छ । त्यसको उदाहरण दिइसकेकी छन्, ‘मनमा सधैं उर्ली गंगा…’। उनको स्वरमा मिठास छ अनि शारीरिक सुन्दरताको पनि धनी छिन् उनी । हरेक क्षेत्रमा कलासँगै सुन्दरता भएकाहरु सफल भएका उदाहरण छ । त्यसैले दीपाको सन्दर्भमा त्यही लक्ष्य छ ।