काठमाडौं, २६ माघ । गायिका सहिमा श्रेष्ठलाई पछिल्लो समय भ्याइ–नभ्याई छ । उनी विदेशमा मात्र नभएर स्वदेशमा हुने कार्यक्रममा पनि उत्तिकै व्यस्त छन् । वर्षभर विभन्न मुलुकमा भएका नेपाली सांगीतिक कार्यक्रम भ्याएकी सहिमाले नेपालमा पनि उत्तिकै स्टेज तताउन भ्याइन् । पछिल्लो समय ‘ल्याङ्ल्याङ्’ बोल गीतमार्फत चर्चामा रहेकी सहिमा भनिन्, ‘यो महिनाभरी नेपालमै व्यस्त भएँ ।’ उनले यो माघ महिनामा मात्र आधा दर्जनभन्दा बढी महोत्सवमा स्टेज तताउन भ्याइन् ।
हुन त सहिमाका अधिकांश गीत चर्चामा छन् । तैपनि पछिल्लो वर्षयता उनको भाग्य चम्केको छ । सन् २०१६ मा मात्रै खाडीका विभिन्न मुलुकलगायत युरोप र जापानमा समेत कार्यक्रम गर्न भ्याएकी सहिमाले माघ महिनामा अर्घाखाँची, दाङ, नवलपरासी, हेटौडाको मनहरीलगायतका स्थानमा आयोजित महोत्सवहरुमा स्टेज तताइन् ।
दिनदिनै गायनमार्फत आफूलाई व्यस्त बनाइरहेकी सहिमा भन्छिन्, ‘यो फागुनमा पनि मेरो स्याडुअल प्याक छ ।’ उनी लेखनाथ महोत्सवलगायत सुर्खेतका लागि समेत बुक भइसकेकी छन् भने विदेशबाट समेत कार्यक्रमका लागि कुरा भइरहेको उनले सुनाइन् । यो सिजनमा विभिन्न महोत्सवहरु हुने भएकाले पनि चर्चामा रहेको गायक÷गायिका तथा कलाकारहरु व्यस्त हुने गरेका छन् । तर, सहिमाले भने अहिलेको व्यस्ततालाई आफ्नो मिहिनेतको प्रतिफल भन्न रुचाउँछिन् ।
‘सहिमा’ नामक एल्बममार्फत आफूलाई गायनमा प्रवेश गराएकी सहिमाका ‘हेरेको हेरै हुन्छु होला म’, ‘डोला डोला हातमा’, ‘ल्याङ्ल्याङ’ जस्ता दर्जनौ हिट गीत छन् । तिनै गीतले उनी विभिन्न स्थानका दर्शकलाई आफूसँगै नचाउन सफल हुँदै आएकी छन् । हुन त स्टेज शोका लागि गायक÷गायिकाको गीत राम्रो भएर मात्र हुँदैन । पर्फमेन्स शैली पनि हुनुपर्छ । त्यो खुबी सहिमासित छ । सहिमाको विशेषता भनेको नाच्दै गाउनु हो । त्यसैले पनि उनको स्टेज क्रेज बढ्दैछ । यो कुरा सहिमा पनि स्वीकाछिन् । उनी भन्छिन्, ‘मलाई गाउनुसँगै नाच्न मनपर्छ । यसरी नाच्दै गाउँदा दर्शकले पनि मन पराउँछन् ।’ यतिमात्र नभएर सहिमाको स्वर र रुपमा जादु नै छ । त्यसैले पनि एकपटक पर्फमेन्स गरिसकेको स्थानबाट उनलाई अर्कोपटक पनि अफर आउने गरेको छ ।
साथै, सहिमा पछिल्लो समयकी व्यस्त पाश्र्व गायिका पनि हुन् । जतिखेर गायन रियालिटी शो ‘खोजी प्रतिभाको’ मा सहभागी भएर गायनलाई औपचारिकता दिन यस क्षेत्रमा आइन् । त्यतिखेर आधाुनिक गायन अँगालेकी सहिमाले दुई दर्जनभन्दा बढी चलचित्रमा स्वर दिइसकेकी छन् भने पछिल्लो समय उनले आइटम नम्बर पनि गाउन थालेकी छन् । आधुनिक गायनको उनको प्यासन नै हो ।