काठमाडौं, २० माघ । यो आउँदो २७ गते जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालय कस्तो देखिएला ? बजारमा कार्यक्रमबारे सुन्नेहरुका लागि पक्कै अहिले यस्तै मनमा कौतुहलता हुनुपर्छ । जहाँ एउटा फरक किसिमको सांगीतिक कार्यक्रम हुँदैछ । कार्यक्रमको नामै रहेको छ, फरक पाइला अर्थात् ‘वेश्मा लाङ्योक’ । सो फरक पाइलामार्फत एकैथलोमा दर्शकले देख्न, सुन्न र हेर्न पाउनेछन् लिम्बु समुदायका राष्ट्रियस्तरका चर्चित कलाकर्मीहरुलाई ।
हो, २७ माघ बिहीबार साँच्चीकै दर्शकले सांगीतिक कार्यक्रमको एउटा फरक स्वाद चाख्न पाउने छन् । हिलिहाङ हाक्पारे पालम सयङले आफ्नो प्रथम वार्षिक उत्सवको अवसर पारेर गर्न लागेको ‘वेश्मा लाङ्योक’मा राष्ट्रिय नाचघरले समेत सहकार्य गरेको छ । त्यसैले पनि यस कार्यक्रमलाई सांगीतिक कार्यक्रमका लागि एतिहासिक हुने दावी आयोजकको छ ।
संगीतकार अशोक लोहरुङ राईको संयोजन रहेको यस सांगीतिक कार्यक्रमलाई विशेष भव्य र सभ्य बनाउन दुई सातायता हिलिहाङ हाक्पारे पालम सयङ मनतनले जुटेको छ यतिखेर । ७० भन्दा धेरै गायक, गायिका तथा नृत्यकारहरु सहभागी हुने यस कार्यक्रमकै लागि केही दिनयता कलाकारहरु रिहर्सल गरिहेका छन् ।
कार्यक्रममा मनु नेम्बाङ, दीपक लिम्बू, देशु सुहाङ, विष्णु चेम्जोङ, कुसल थलङ, मोहन मादेन, सञ्जय तुम्रोक, सुसन साम्सोङ, सुष्मा लिबाङ, जशोदा सुब्बा, सिता सिंगक, श्रेयाशी चेम्जोङ, सुनिता थेगिम, अमृता लिम्बू, निर्मल लिम्बू, सरेश वनेम, निशा लिम्बू, विना थेगम लिम्बू, दीपा सुहाङ, रिना लिबाङ, तारा थेबेलगायतका नयाँ तथा पुराना गायक एवं गायिकाले लिम्बु भाषाका गीत प्रस्तुत गर्ने भएका छन् । उनीहरु अशोक लोहरुङ राईको म्युजिक संयोजनमा लाइभ म्युजिकमा प्रस्तुत हुने भएका छन् ।
त्यस्तै, कार्यक्रमको अर्को रौनकता नृत्य रहेको छ । कार्यक्रममा निशा पोपु लिम्बू, रुपा आङबुहाङ, विना लिम्बू, सुक्मिता केरुङ लिम्बू, डिम्पल योङहाङ लिम्बू, लक्ष्मी योङहाङ, यमुना चेम्जोङ, रितु नेम्बाङ, रजिना आङदेम्बे, मेरिना चेम्जोङ, सिर्जना तबेबुङ, सलु फोम्बो, किरण रानामगर, विशाल सेनेहाङ, विवेक बेघा, अस्टिन तामाङ, शिवराज अङछोङबु, सागर खजुम, रेनुशा लिम्बूलगायतका मोडल तथा नृत्याकारहरुले आफ्नो दमदार नृत्य प्रस्तुती दिने भएका छन् । सेकसम्म कार्यक्रमलाई एतिहासिक बनाउन लागेको हिलिहाङ हाक्पारे पालम सयङका अध्यक्ष प्रदीप योङहाङले बताए ।
त्यस्तै कार्यक्रमका संयोजन गरिरहेका संगीतकार अशाकले यस कार्यक्रमलाई लिम्बू समुदायलाई समर्पित गरेको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘जसले मलाई सांगीतिक फाँटमा स्थापित गराउन धेरै महत्वपुर्ण योगदान ग¥यो । आफनो जिवकोपार्जन गर्न आफू स्थापित हुन तथा आत्मपरक भएर धेरै सांगीतिक काम गरियो । र, भनिश्यमा पनि गरिने छ । तर, समुदाय, समाज र राष्ट्रको लागि यसरी काम गर्ने पाउने अवसर कमैमात्र पाइन्छ । त्यसैले यो कार्यक्रम म सम्पूर्ण लिम्बू समुदायमा समर्पण गर्न चाहन्छु ।’