पोखरा, ८ पुस । पोखरामा आयोजित ‘चेरिष्मा फेशन नाईट’ मा अभिनेत्री करिश्मा मानन्धर शो स्टपरको रुपमा -याम्पमा देखा परिन् । चेरिष्मा बुटिकद्धारा तयार गरिएको लेहंगामा मुस्कुराउँदै स्टेजमा उत्रिएकी करिश्मालाई देख्नेबित्तिकै दर्शकले हुटिङ गरेका थिए । सदाबहार अभिनेत्रीको उपमा पाएकी करिश्माले आफ्नो सुन्दरताको जादु छँदै चेरिष्माको पहिरनको खुलेरै प्रशंसा पनि गरिन् ।
पुसको जाडोको पर्वाह नगरी रमाइरहेका दर्शकलाई आफै अभिनित चलचित्रको गीत ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेउन’ गाएर थप मनोरञ्जन प्रदान गरिन् ।
नेल्शन इन्टरटेइनमेन्ट प्रालिको व्यवस्थापनमा र चर्चित कोरियोग्राफर जयन सुब्बाको कोरियाग्राफी रहेको फेशन शोमा चेरिष्मा इम्पोरियम एण्ड बुटिककी संचालक सिता बरालको डिजाइनमा तयार गरिएका पहिरनलाई काठमाडौंका प्रोफेशनल एव फ्रेश मोडलहरुले साडी, लेहेंगा एवं कुर्ता प्लाजो सेट गरी तीन राउण्डमा प्रदर्शन गरेका थिए ।
काठमाडौंका मोडलहरु क्रमशः प्रियंका मानन्धर, दिव्या महर्जन, हरिशा बानियाँ प्रगती श्रेष्ठ, रोमी खड्गी, रोलिन थापा मल्ल, आशा आचार्य एव पोखराका कृपा भुजेल जीना मगर, सुलोचना ब्रजाचार्यलगायत आर्कषक रुपमा -याम्पमा प्रस्तुत भएका थिए । चेरिष्मा फेशन नाइटलाई दर्शकले निकै मन पराएको नेल्शन इन्टरटेइनमेन्ट प्रालिकी म्यानेजिङ डाइरेक्टर अनिशा श्रेष्ठले जानकारी दिइन् ।