रहेनन् बरिष्ठ गायक योगश वैद्य
screennepal
प्रकाशित: २०८०, ५ माघ शुक्रबार
no img

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । पारिवारका अनुसार उनको बिहीबार राति निधन भएको हो ।

दिउँसो स्वास्थ्यमा केही समस्या देखिएपछि अस्पताल लाने क्रममै उनको निधन भएको परिवारजनले जनाएको छ । उनलाई भ्याली अस्पताल लगिएको थियो । गायक वैद्य ७७ वर्षका थिए । भर्खरैमात्रै उनलाई गंकी बसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्रदान गरिएको थियो । त्यस कार्यक्रममा भने उनी आफैं उपस्थिति हुन सकेका थिएनन् । तर भिडियो सन्देश भने दिएका थिए ।

उनी नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् । उनी भाषा गीतसंगीतका लागि पनि चर्चित थिए ।

१२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका योगेश थाहै नपाई रेडियो नेपाल पुगेका थिए । रेडियोमा निर्देशक भोग्यप्रसाद शाहलगायत थुप्रै कलाकारसामु उनले दुई दर्जन गीत गाएका थिए । २०२२ सालमा किरण खरेलको शब्द र नातिकाजीको संगीतमा ‘कति प्यासी छ जिन्दगी’ बोलको गीत उनले पहिलोपटक रेकर्ड गराएका थिए ।

करिब ३३ वर्ष सरकारी जागिर खाएका योगेश ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए । उनले बेल्जियमको गेन्टको स्टेट युनिभर्सिटीबाट पनि फुड एन्ड न्युट्रेसनमा स्नातकोत्तर गरेका थिए । योगेशको आजै पशुपतिमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

Comments