याक्थुङ चुम्लुङ दुवईले सम्मान गरेपछि अभयले भनिन्- म अत्यन्तै कृतज्ञ छु
screennepal
प्रकाशित: २०८०, १९ पुष बिहीबार
no img

काठमाडौं । रक गायिका अभय सुब्बा दुवईमा सम्मानीत भएकी छन् । अंग्रेजी नयाँ वर्षको अवसरमा सांगीतिक प्रस्तुती दिन दुवई पुगेकी ‘अभय एण्ड स्टिम इन्जिन्स’की भोकलिष्ट अभयलाई किरात याक्थुङ चुम्लुङ, दुवईले सम्मान गरेको हो ।

दुवई नेपाली रक्सले नयाँ वर्षका अवसरमा ‘अभय एण्ड स्टिम इन्जिन्स’लाई कार्यक्रमका लागि दुवईमा बोलाएको थियो । सोही अवसरमा याक्थुङ चुम्लुङले अभयलाई सम्मान गरेको दुवई नेपाली रक्सकी सदस्य एवं गायिका अमृता लक्सम लिम्बूले बताइन् । अमृताले भनिन्, ‘रक गायनमार्फत सांगीतिक क्षेत्रमा योगदान पुराएवापत याक्थुङ चेली अभयलाई दुवई आएको अवसरमा चुम्लुङले सम्मान प्रदान गरेको हो ।’

सांगीतिक कार्यक्रमको सिलसिलामा अभय आफ्नो ब्याण्ड ‘अभय एण्ड स्टिम इन्जिन्स’का सदस्यसहित दोस्रोपटक दुवई पुगेकी हुन् । नेपाली सांगीतिक क्षेत्रमा लोक रकमा अभयको बेग्लै पहिचान र नाम छ । साथै, देश–विदेशमा समेत ‘अभय एण्ड स्टिम इन्जिन्स’को फ्यान प्रसस्त छन् ।

दुवईमा सम्मान ग्रहणपछि अभयले किरात याक्थुङ चुम्लुङ, दुवईप्रति कृतज्ञ व्यक्त गरेकी छन् । अभयले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘१ जनवरी २०२४ मा युएई किरात याक्थुङ चुम्लुङ समुदायले मलाई दिएको माया र सम्मानबाट म अत्यन्तै सम्मानित र कृतज्ञ छु ।’

आफूलाई पहिलो महिला रक गायिकाको रुपमा दुवई नेपाली रक्सले सम्मान गरेकामा खुसी व्यक्त गर्दै अभयले भनेकी छन्, ‘उनीहरूले मलाई पहिलो नेपाली महिलाको रूपमा मान्यता दिँदै सम्मान पत्र, शाल र सिलाम साक्पाको औंठी र प्रतीक प्रदान गरे । रक विधाबाट जो ‘रकस्टार’, संगीतकार, गायक र संगीतकार हुन् । यो तीन अद्भुत लिम्बू महिला अमृता लिम्बू, ईंगा खेम र मनिषा सुब्बाद्वारा सुरु गरिएको थियो । कुनैपनि लिम्बु समुदायले मेरो लागि यस्तो विशेष कार्यक्रम गरेको यो पहिलोपटक भएकाले मान्यता र माया अतुलनीय थियो । शब्द भन्दा बाहिर कृतज्ञ ।’

दुवई नेपाली रक्स रोजगारीको सिलासिलामा दुवई पुगेका नेपाली संगीतप्रेमी यमन गुरुङ, अमृता लक्सम लगायतले सुरुवात गरेको गु्रप हो । यो गु्रपले दवईमा नेपाली गीतसंगीतलाई प्रमोशन गर्ने हेतुले कार्यक्रमहरु गर्दै आएको छ । सोक्रममा नेपालका ख्याती प्राप्त कलाकार तथा सांगीतिक समूहहरुलाई दुवईमा प्रस्तुत गर्दै आएको छ ।

हालसम्म ‘मंगोलियन हार्ट’, ‘कन्दरा’, ‘मन्त्र’, ‘द एक्स’ जस्ता ब्याण्डहरुलाई लिएर सांगीतिक कार्यक्रम गरिसकेको दुवई नेपाली रक्सकी सदस्य अमृताले बताइन् । यही गु्रपले पछिल्लो समय रकस्टार अभयलाई दुवईमा प्रस्तुत गरेको हो ।

Comments