चोभारमा बर्षाले लिइन् जिपलाईनको मज्जा
screennepal
प्रकाशित: २०८०, १ पुष आईतवार
no img

काठमाडौं । अभिनेत्री वर्षा राउतले काठमाण्डौंको चोभारस्थित मन्जुश्री पार्कमा सञ्चालनमा ल्याइएको नेपालको पहिलो क्यानोपी जिपलाइन उद्घाटन गरेकी छन् ।

शनिबारदेखि संचालनमा आएको जिपलाइनको शुभारम्भ गर्न पुगेकी बर्षाले तीनवटा स्टेसन रहेको क्यानोपी जिपलाइनको मज्जासमेत लिइन् । दश मिनेट खेल्न समय लाग्ने करिब ४ सय मिटरको क्यानोपीमा पहिलो चरणमा एडभेन्चर, दोस्रोमा डेयर डेभिल्स र तेस्रोमा द फन भन्दै खेलाइन्छ ।

‘मैले जिपलाईनको अनुभव पहिले एकपटक गरेको थिएँ तर रोकी रोकी फरक फरक स्टेशनमा फरक फरक एडभेन्चर क्यानोपीमा पाइदा अझै धेरै मज्जा हुने रहेछ’ उनले प्रतिक्रिया दिएकी छन् । उनले फिल्मका सुटिङ भइरहने चोभार एरियामा स्थापना भएका कारण यो जिपलाईनले पर्यटक सम्भावना थप बढ्ने विश्वास समेत ब्यक्त गरिन् ।

चार करोड लगानीमा निर्मित क्यानोपी जिप लाईनलाई जे.बी एडभेन्चरले सञ्चालनमा ल्याएको हो । भबिष्यमा स्काई वाक र बन्जी जम्म लगायतका प्रोजेक्टको समेत परियोजना तयार गरिसकेको जे.बी.एडभेन्चरले एउटा अनुभव लिनेका लागि ५ सय र तीनवटै क्यानोपी जिपलाईन खेल्नका लागि १२ सय रुपैयाँ टिकट कायम गरेको छ ।

विद्यार्थीलाई र स्थानीय ६ नम्बर वडाका बासिन्दाको हकमा भने २५ प्रतिशत छुट दिइएको जेवी ऐडभेन्चरका निर्देशक हिमाल गुरुङले बताए । उनले प्रविधिका हिसावले पनि जापनिज प्रविधि, एक्सपर्टका हिसावले नेपालकै प्रख्यात विज्ञहरुबाट सञ्चालनमा ल्याएको र सुरक्षाको हिसावले पनि नमूना बनाईएको उनको दावी छ ।

कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिका ६ का पूर्वअध्यक्ष न्हुछेबहादुर महर्जनले एड्भेन्चरले कीर्तिपुर वडा नम्बर ६ लाई पर्यटकीय हब बनाउन आफूहरुले यो जीपलाईनलाई संचालन गर्न अनुमति दिएको बताएका छन् ।

Comments