‘नेपालगञ्ज फेशन शो’ हुँदै, स्थानीय मोडललाई प्राथमिकता
screennepal
प्रकाशित: २०७६, १६ फाल्गुन शुक्रबार
no img

मोडलिङ क्षेत्रमा रुची भएका युवायुवतीलाई लक्षित गर्दै बाँकेको नेपालगञ्जमा फेशन शो आयोजना गरिने भएको छ । इल्क ग्रुप नेपालले आगामी २२ चैतमा ‘नेपालगञ्ज फेशन शो’ आयोजना गर्ने जनाएको छ ।
मोफसलमा बिभिन्न समयमा सञ्चालन गरिने फेसन शोबाट छनोट भएका मोडल र ‘यस क्षेत्रमा केही गर्छु’ भन्ने सोच भएका युवायुवतीलाई थप अवसर प्रदान गर्ने उद्देश्यले उक्त फेशन शो गर्न लागिएको ओएनएस ग्रुपका प्रमुख कृष्टल केसीले जानकारी दिए । उनले उक्त फेशन शो जिल्लामै नौलो र पृथक भएको दावी गरे ।
यसै क्षेत्रमा क्रियाशिल फोटोग्राफर, भिडियोग्राफर र उद्योगी व्यवसायीको सहभागीता रहने उक्त कार्यक्रमपश्चात् यस क्षेत्रमा बिज्ञापन, भिडियो तथा दृष्य सामाग्री निर्माण गर्दा स्थानीय मोडलहरुलाई समेट्ने गरी अवसर सिर्जना गर्ने मुख्य कार्यक्रमको लक्ष्य रहेको आयोजकले जनाएको छ ।
फेशन शोमा १५÷१५ जनाको दरले स्थानीय युवायुवतीलाई छनोट गरी एक हप्तासम्म निस्शुल्क प्रशिक्षणको ब्यवस्था मिलाइने आयोजकले जनाएको छ । प्रशिक्षणमा कोरियोग्राफी मिस नेपालगन्ज २०१७ दिपिका श्रेष्ठले गर्नछिन् भने शो स्टपरको रुपमा काठमाडौंबाट चर्चित मोडल तथा अभिनेता प्रज्वल सुजल गिरी रहने जनाइएको छ । कार्यक्रममा गायक कमल खत्रीको पनि प्रस्तुति रहनेछ ।
विशेषगरी नयाँ अनुहारलाई प्राथमिकता दिइने फेशन शोमा एसईई पास भएका जुनसुकै उमेर समुहका युवायुवतीले सहभागीता जनाउन सक्नेछन । नयाँ र पुराना मोडलहरुसमेतलाई उपयुक्त प्लेटफर्म प्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको आयोजकको भनाइ छ ।
स्थानिय सुनाखरी रेष्टुरेन्टमा आयोजना हुने उक्त फेशन शोबाट स्थानिय मोडेलहरुको क्षमता र दक्षता उजागर गर्न सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ । कार्यक्रमको सोसल मिडिया पार्टनर नेपालगञ्ज ग्यालरी, अनलाइन मिडिया पार्टनर नागरिक समाज डटकम, ड्रेस पार्टनर भिभा बुटिक, मेकअप पार्टनर नेचुरल ब्युटी पार्लर र हस्पिटालिटि पार्टनर साइना क्याफे रहेको छन् ।

Comments