राजेशपायलले किन गरे अवार्ड नलिने घोषणा ?
screennepal
प्रकाशित: २०७६, ११ मंसिर बुधबार
no img

पछिल्लो समय दिनैजसो अवार्डहरु भइरहेका छन् । दिनदिनै हुने विभिन्न नामका अवार्डहरु अलोकप्रिय समेत बन्न थालेको छ । यसैबेला नेपाली गीतसंगीत क्षेत्रका मेगास्टार राजेशपायल राईले भने ‘अवार्ड नलिने’ घोषणा गरेका छन् । एक अवार्ड समारोहका सहभागी भइरहेकै बेला उनको यस्तो भनाइ आएको हो ।
केही समयअघि मात्र आफ्नो घरमा आगलागी हुँदा अहिलेसम्म प्राप्त गरेका उनका सबै अवार्ड तथा सम्मानपत्रहरु नष्ट भएको थियो । तर, उनले त्यसपछि पनि अवार्ड प्राप्त गरेका छन् । तर, राजेशले अब अवार्ड नलिने घोषणा गरेका छन् ।
राज्यस्तर र अन्तर्राष्ट्रिय मान्यताप्राप्त अवार्डबाहेक निजी वा व्यक्तिगतरुपमा प्रदान गरिने सबै किसिमका अवार्ड नलिने राजेशपायलले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकको आफ्नो एकाउन्टमा स्टाटस लेख्दै उनले यस्तो घोषणा गरेका हुन् ।
‘हामी कलाकारका लागि दर्शक तथा श्रोताहरुको माया, सद्भावले विशेष महत्व राख्दछ । नयाँ कलाकारहरुलाई प्रेरित गर्न पनि हामीले उनीहरुका लागि बाटो छाडिदिनुपर्छ भने अवार्डहरुको गरिमा तथा महत्व पनि कायम रहनुपर्दछ’ उनले लेखेका छन् ।
राजेशपायलले अवार्डले आफ्नो करिअरमा महत्वपूर्ण भूमिका निर्वाहा गरेको उल्लेख गर्दै भनेका छन्, ‘लाइफ टाइम एचिभमेन्ट र सम्मान’ भने ग्रहण गर्नेछु ।’ स्मरणीय के भने नेपाली फिल्म तथा गीतसंगीत क्षेत्रमा सबैभन्दा धेरै अवार्ड उनै राजेशपायलले पाउने गरेका छन् ।

Comments