अनि गुञ्जियो चोभारमा मेरो देश…! (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७६, ९ श्रावण बिहीबार
no img

आकाश धुम्म थियो । खुल्लाजस्तो छाँट थिएन । तैपनि प्रतिकुल मौसमलाई चुनौती दिँदै बुधबार एकाबिहानै एकहुल कलाकार र प्राविधिक चोभारको डाँडा पुगे । जहाँ सिमसिम पानी परिरहेको थियो ।
‘अब के गर्ने ?’ टोली अलमलमा परे । मौसम दिनभर खुल्ने छाँट नदेखिएपछि तम्सिए, ‘यस्तै मौसममा भएपनि पनि सुरु गरौँ’, अनि चोभारको डाँडामा गुञ्जिन थाल्यो ‘मेरो देश’ ।
प्रशंग, राष्ट्रियभाव झल्काउने म्युजिक भिडियोको छायाँकनको हो । गायक शंकर ढकालले गाएको ‘मेरो देश’ बोलको राष्ट्रियभावना जागृत गीतको छायांकनका लागि कोरस इन्टरटेनमेन्टको प्राविधिक व्यवस्थापन टिमसहित चोभार पुगेका उनीहरुले सिमसिमे पानीर्मै भिडियो छायाँकन गरे ।


याम गुरुङको निर्देशनमा छायाँकन गरिएको उक्त म्युजिक भिडियोका लागि मोडल मौसमी कन्दङवा लिम्बू टिपिकल नेपाली पहिरन र भेषभूषामा प्रस्तुत भइन् । निर्देशक गुरुङ सयंम पनि अभिनयका लागि प्रस्तुत भए ।
आकाश खुल्ला कि भन्ने अपेक्षा गर्दागर्दै ‘मेरो देश’को करिब ९५ प्रतिशत छायाँकन चाभोरमै गर्न भ्याए । बुधबार दिनभर मौसम प्रतिकुलताका कारण आन्तरिक हवाइसेवा समेत अवरुद्ध बनेको थियो । तर, राष्ट्रिय गीत ‘मेरो देश’को छायाँकन अवरुद्ध भएन । साँझ ढल्किँनै लाग्दा ‘केही दृश्य सहरमै खिच्ने’ भन्दै कलाकार तथा प्राविधिक टोली महाराजगञ्जतिरै फर्किए । र, केही दृश्य महाराजगञ्जस्थित ग्रिन क्याफे एण्ड होटलमा छायाँकन गरेपछि ‘मेरो देश’को भिडियो पूरा भयो ।
‘मेरो देश’मा गायक ढकालकै शब्द तथा संगीत रहेको छ । याम गुरुङले निर्देशन गरेको उक्त भिडियोमा मौसमी कन्दङवा, याम, बालकलाकार सभाहाङ राईलगायतका कलाकारले अभिनय गरेका छन् ।


बरिष्ठ गायक तथा निर्देशक राजन राईको कोरस इन्टरटेनमेन्टले प्राविधिक व्यवस्थापनको जिम्मेवारी लिएको उक्त भिडियो चाँडै हेर्न पाइने निर्देशक गुरुङले बताए । ‘मेरो देश राष्ट्रिय गीत हो’ उनले भने, ‘गीतको भाव अनुसार भिडियो तयार गरेका छौँ ।’
थुप्रै म्युजिक भिडियोहरुमा मोडलिङ गरिसकेकी मौसमीले राष्ट्रिय गीतमा अभिनय गर्दा आनन्द महशुस भएको सुनाइन् । उनले भनिन्, ‘राष्ट्रिय गीतको भिडियोमा पहिलोपटक अभिनय गरेकी हुँ, आफ्नो देशप्रति सबैलाई माया लाग्छ । जुन भिडियोमै देखाउन पाउँदा खुसी लाग्यो ।’

Comments