जन्मदिनमा तृष्णाले फेरिन् नाम (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७५, २९ चैत्र शुक्रबार
no img
  • तस्बिर : आशिष राना

चर्चित फेसन डिजाइनर तृष्णा गुरुङले जन्मदिनसँगै शुक्रबार (आज) आफ्नो बुटिकको १०औँ वार्षिकी मनाएकी छन् । तृष्णाले बुटिक र आफ्नो एउटै ‘तृष्णा गुरुङ’ लेखिएको केक काटेर जन्मदिन मनाएकी हुन् ।

एक दशकदेखि काठमाडौंको पानीपोखरीस्थित ‘मृगतृष्णा फेसन हाउस’ सञ्चालन गर्दै आएकी फेसन डिजाइनर तृष्णाले आफ्नो जन्मदिनको अवसरमा नयाँ खुलासासमेत गरेकी छन् ।

आफ्ना नजिकका साथीभाई तथा परिवारजनसँग जन्मदिनको उत्सव मनाएकी तृष्णाले भनिन्, ‘यो बुटिक मेरो जन्मदिनकै अवसरमा मेरी आमा र भाईले उपहार दिएको हो । त्यसैले मेरो जन्मदिन र यो बुटिकको वार्षिकी एकै दिन पर्छ ।’

फेसन डिजाइनिङलाई मुख्य पेसा बनाउँदै आएकी तृष्णा विशेषगरी सेलिब्रेटीका लागि चर्चित छिन् । दर्जनौँ देश–विदेशमा फेसन गरेर चर्चामा आएकी तृष्णाले शुक्रबार साँझ (आज) जन्मदिन मनाइरहेकै बेला भनिन्, ‘आजैका दिनदेखि बुटिकको नामसमेत परिवर्तन गरेकी छु ।’

उनले ‘मृगतृष्णा फेसन हाउस’ नामलाई परिवर्तन गरेर ‘मृगतृष्णा फेसन एण्ड प्रोडक्शन प्रालि’ बनाएकी छन् । नेपाली फेसन पारखीमाझ चर्चित तृष्णाले यसरी आफ्नो फेसन कम्पनीको नाम परिवर्तन गर्नुको उद्देश्य भने अर्कै छ । अब उनी फिल्म निर्मात्रीका रुपमा समेत चिनिने भएकी छन् ।

तृष्णाले चाँडै गुरुङ संस्कृतिमा आधारित फिल्म निर्माण गर्दैछिन् । यसै कारण उनले आफ्नो फेसन कम्पनीसँग प्रोडक्शन जोडेकी हुन् । ‘अहिले फिल्मको स्क्रिप्ट भइरहेको छ’ तृष्णाले भनिन्, ‘अब चाँडै निर्माणमा अगाडि बढ्ने छु ।’ उनले मृगतृष्णा फेसन तथा प्रोडक्शन कम्पनीकै ब्यानरबाट फिल्म निर्माण गर्ने बताइन् ।

तृष्णालाई स्क्रिन नेपाल परिवारको तर्फबाट जन्मदिनको लाखौँ लाख शुभकामना अनि मृगतृष्णा बुटिक दशौँ वर्षमा प्रवेश गरेकामा हार्दिक बधाई ।

Comments