मिलन–कमलको रोमान्टिक ‘मन रेशम’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, १२ माघ शनिबार
no img

नेपाली गीतसंगीतकी चर्चित गायिका मिलन नेवारले यसपटक आफ्नो जन्मदिनलाई विशेष बनाएकी छन् । मिलनले जन्मदिनकै अवसर पारेर शुक्रबार आफ्नो चौथो एकल एल्बम ‘मिलन यात्रा’ सार्वजनिक गरेकी छन् ।
सोही अवसरमा आफ्नो पाँचौ एल्बम ‘मिलन–२’मा समावेश ‘मन रेशम’ बोल गीतको भिडियो पनि सार्वजनिक गरेकी छन् । यी चर्चित गायिकाको एल्बमलाई गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक गरेका थिए ।
आफ्नो जन्मदिनको अवसर भएकाले एल्बम सार्वजनिकसँगै मिलन केही नयाँ काम गर्ने प्रणसमेत गरिन् । आफूलाई जन्मदिन आमा–बाबुको उपस्थितिमा ‘मिलन यात्रा’ र भिडियो सार्वजनिक गर्दै मिलनले सामाजिक सेवामा पनि सक्रिय हुने बताइन् । त्यसका लागि उनले ‘मिलन च्यारिटी फाउण्डेशन’ घोषणा गरेकी छन् । साथै, गीतसंगीत र सामाजिक सेवामा सक्रिय गराउने प्रण गर्दै उनले अबका दिनमा पुन मिलन नेवारकै रुपमा अगाडि बढ्ने बताएकी छन् ।

सार्वजनिक ‘मन रेशम’ गीतमा मिलनसँगै चर्चित गायक कमल खत्रीको स्वर रहेको छ । मिलनकै शब्दरचना रहेको उक्त गीतलाई कमलले संगीत गरेका हुन् ।
राजेश पुमा राईले निर्देशन गरेको यस भिडियोमा मिलन र कमलले अभिनय गरेका छन् । रोमान्टिक प्रेमभावको ‘मन रेशम’ को भिडियोमा गायिका मिलन र गायक कमलको जोडी साँच्चीकै खुलेको छ । १३ वर्षकै उमेरदेखि गायनमा लागेर चर्चा कमाएकी मिलन पछिल्लो समय मोडलिङ र गीति लेखनमा समेत देखिएकी छन् । यसपछि अर्को थपिएको उनको परिचय हो, समाजसेवी ।
गायिका तथा समाजसेवी मिलन नेवारलाई स्क्रीन नेपालको तर्फबाट जन्मदिनको मंगलमय शुभकामनासँगै बधाई एवं सांगीतिक यात्राको लागि उत्तरोत्तर प्रगतिको कामना गर्दछ

Comments