केही समययता अमेरिकामा बस्दै आएका गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईले अमेरिकाको अरोराबासी नेपालीलाई नचाएका छन् ।
नेपालीहरुको महान चाड दशैँको अवसरमा आयोजित ‘कल्चर म्युजिक डान्स फेस्टिवल’ नाम दिइएको उक्त कार्यक्रममा गायक राईले आफ्ना चर्चित एक दर्जनभन्दा बढी गीत सुनाएर दर्शकलाई मनोरञ्जन मात्र दिलाएनन् उनले दर्शकलाई आफूसँगै नचाउन समेत सफल भए ।
भुटनिज बुद्धिष्ट कम्युनिटीले आयोजना गरेको सो कार्यक्रममा गायक राईले काम नगरे नि कसैले, आइडी छ कि छैन, निथ्रुक्कैलगायतका आफ्ना चर्चित गीतहरु सुनाएका थिए ।
नेपालमा सांगीतिक क्षेत्रमा चर्चामा रहेकै बेला अमेरिका गएका गायक राईले त्यहाँ पनि गायनलाई निरन्तरता दिँदै आएका छन् । यसैक्रममा उनी दशैँको अवसरमा गएको २१ अक्टुबरमा उनी प्रस्तुत भएका हुन् । उक्त कार्यक्रममा सहरा राई, सुधा थापा, अशोक राईलगायत त्यहाँ बस्दै आएका कलाकारले पनि आफ्नो कला प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भव्य र सभ्य भएको आयोजक संस्था भुटनिज बुद्धिष्ट कम्युनिटीका अध्यक्ष टेक गुरुङले बताए । उनका अनुसार उक्त कार्यक्रम विशेषगरी अरोराबासी नेपालीका लागि गरिएको थियो ।