अनिता लिम्बू : हाङ्देवादेखि लण्डनको ‘अक्सफोर्ड फेसन विक’सम्म
screennepal
प्रकाशित: २०७५, १९ आश्विन शुक्रबार
no img

– एमपी सुब्बा

बेलायत अर्थात एउटा सानो नेपाल । जहाँ दिनदिनै बढ्दो छ नेपालीको संख्या । ब्रिटिस गोरखा सैनिकका सन्तनीले भरिभराउ बन्दै गएको बेलायत नेपाली कला र संस्कृतिले पनि सजिसजाउ हुँदै गएको छ । नेपाली गीतसंगीत र फिल्म त छँदैछ, फेसनमा रमाउने लण्डनजस्तो सहरमा केही नेपाली मोडलले आफूलाई अब्बल रुपमा प्रस्तुत गर्दै आएका छन् । तिनैमध्येकी एक मोडल हुन्, अनिता लिम्बू ।


हालै लण्डनमा आयोजित ‘अक्सफोर्ड फेसन विक–२०१८’मा -याम्पमार्फत फेसन दुनियाँको मन जित्न सफल भएपछि चर्चामा आएकी अनिता ले आफूलाई ‘अन्तर्राष्ट्रिय मोडल’का रुपमा उभ्याएकी छन् । अनिताको त्यो सफलताले नेपाली समुदाय त खुसी हुने नै भए, अनितालाई अन्तर्राष्ट्रिय मिडियाले समेत चर्चा गर्न भ्याए । ‘अक्सफोर्ड फेसन विक’ एउटा यस्तो शो हो, जसले युरोपजस्तो फेसनेवल मुुलकका फेसन पारखीहरुलाई समेत जुर्मुराउँछ । एक किसिमले भन्ने हो भने त्यो एउटा युरोपकै उत्कृष्ट फेसन शो हो ।

अनिताको मोडलिङ करिअर
अनिताको पुर्खौली घर पूर्वी नेपालको ताप्लेजुङस्थित हाङ्देवा हो । तर, उनी करिब ८ वर्षदेखि बेलायतको सुइन्डनमा बस्दै आएकी छन् । उनले सन् २०१६ बाट मोडलिङ अँगालेकी हुन् । मोडलिङ र अभिनयलाई ‘प्यासन’का रुपमा लिएकी अनिताले भनिन्, ‘२०१६ यता मोडलिङमा सक्रिय छु ।’ तर, उनले यो छोटो समयमै फेसन दुनियाँमा छुट्टै स्थान बनाउन सफल भएकी छन् ।


अनिताको पहिलो ¥याम्प शो अनुभव ‘रुल द रन–वे–२०१६’ हो । त्यसपछि २०१६ मै ‘मिस स्पार्कलिंक ब्युटि युके’ नामक च्यारिटी शोमा सहभागी भएकी थिइन् उनी । जसमा उनले फस्र्ट रनरअपसहित ‘मिस ट्यालेन्ट’ र ‘मिस च्यारिटी’ दुई सबटाइटल हासिल गरिन् । त्यहीबाट अनिताको मोडलिङ करिअरले ‘टर्निङ प्वोइन्ट’ लियो । अनिताले पहिलोपटक २०१६ मै ‘अक्सफोर्ड फेसन विक’मा ¥याम्प नाप्ने आवसर पाइन् । त्यो फेसन विकमा विभिन्न युरोपियन मुलुकका फेसन डिजाइनरहरुको क्रियशनलाई उनले रेड कार्पेटमा प्रस्तुत गर्ने सौभाग्य पाएकी थिइन् ।


‘अक्सफोर्ड फेसन विक’मा सहभागीपछि अनिताले आफूलाई ‘अन्तर्राष्ट्रिय मोडल’का रुपमा चिनाइन् । त्यहीबेला उनले अफ्रिकन गायकको ‘माई–वे’जस्ता गीतको भिडियोमा मोडलिङ गर्ने अवसरसमेत मिल्यो । त्यसैबेला अर्थात स्न २०१७ मा उनी नेपाल आइन् । नेपाल आउँदा उनलाई म्युजिक भिडियो खेलाउनेहरु थुप्रै निस्किए । फलस्वरुप उनले केही म्युजिक भिडियोमा मोडलिङ गरिन् । उनले नेपालमा केही फेसन शोहरुमा क्याटवाक गर्न पनि भ्याएकी छन् ।

अक्सफोर्ड फेसन विक–२०१८
गएको २८ सेप्टेम्बरमा लण्डनमा भएको ‘अक्सफोर्ड फेशन विक’मा उनी विभिन्न प्रोफेसनल डिजाइनरका क्रियटिभ पहिरनमा ¥याम्प नापिन् । उक्त फेसन विकमा अनिताले तेड बेकर, जोन लेविस, होल्याण्ड, कोपर, बार्ले अक्सफोर्ड र इथिरल लण्डनजस्तो उत्कृष्ट ब्राण्डका लागि रन–वे मोडलिङ गरिन् । बेलायतको सेन्ट्रल लन्डनमा सम्पन्न ‘लन्डन फेसन विक’जस्ता फेसन शोमा ¥याम्प नाप्न भ्याइसकेकी अनिताको क्याटवाकले ‘अक्सफोर्ड फेसन विक–२०१८’मा चर्चा पायो ।


लन्डनस्थित हिल्टन वाल्डरोफ होटलमा आयोजित उक्त फेसन विकमा अनिता चर्चित चार युरोपेली डिजाइनरका ‘कस्ट्युम’मा रन–वेमा उत्रेकी थिइन् । सो कार्यक्रमको आयोजना लन्डनस्थित डिजाइनरहरुले गरेका थिए । अनिताले फेशन विक आफ्ना लागि प्रभावकारी बनेको बताइन् । अनिता लण्डनमा मोडलिङबाहेक ब्युटि थेरापी पनि गर्छिन् । उनको फिल्ममा अभिनय गर्ने पनि रुचि पालेकी छन् । उनी भन्छिन्, ‘मोडलिङ र अभिनय मेरो रुचिका विषय हुन् । तर, उनले अहिलेसम्म आफूले चाहेजस्तो फिल्म नपाएको सुनाइन् । अनिताले भनिन्, ‘राम्रो ब्यानरको फिल्ममा अफर आयो भने अभिनय गर्न तयार छु ।’

Comments