एकल साँझमा गुञ्जिए टीका
screennepal
प्रकाशित: २०७५, ३० जेष्ठ बुधबार
no img

गायक तथा संगीतकार, टीका बोम्जन एकल साँझमा गुञ्जिएका छन् । राजधानीको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लवमा प्रस्तुत भएका बोम्जनले सुरैमै गाए, ‘माटोले माग्दैन आफैंले दिनुपर्छ’ । राष्ट्रिय भावनाले ओतप्रोत यस गीतसँगै खचाखच दर्शक अगाडि प्रस्तुत भएका बोम्जनले त्यसपछि लगातार आफ्ना चर्चित गीतहरु सुनाए ।
स्टेजमा राष्ट्रिय गीत गुञ्जिँदा कामु प्रधानसेतापति पुर्णचन्द्र थापा जुरुक्क उठेर स्टेजमा गए अनि टीकालाई धाप मार्दै एकछिन् साउती मारे । ‘कामु प्रधानसेनापतीज्युले मेरो स्वर र संगीतको प्रशंशा गर्दै बधाई दिए’, टीकाले भने ।


‘टीका बोम्जन एकल साँझ २०७५’ नाम दिइएको कार्यक्रममा दर्शकको बाक्लो उपस्थिती थियो । केही दिनअघि सडक दुर्घटनामा परेका गायक शिव परियार वैशाखी टेकेर कार्यक्रममा पुगेका थिए । ‘मेरो हिडडुल गर्ने अवस्था छैन तर टीका बोम्जनको एकल साँझ भएकाले यहाँ आएँ’, शिवले भने, ‘टिका अहिले नेपाल सांगीतिक क्षेत्रका प्रतिनिधी पात्र हुन् । मैले उहाँको संगीतमा धेरै गीत गाउने अवसर पाएको छु ।’ सो अवसरमा शिवले टिकाको सगीत रहेको ‘रोशी खोला तिरैमा’ बोलको गीत पनि सुनाए ।
नेपाली सेनामा कार्यरत टीकाले २०५९ सालमा नगरकोटस्थित रिपिटर टावरको पोस्ट मर्मत गर्ने क्रममा लडेर हाइभोल्टेज करेन्टमा परी उपचारका क्रममा दुवै हात गुमाउनु परेको थियो । ‘२१ वर्षको उमेरमा मैले दुवै कर्मठ हात गुमाए पनि आज सैयौं हातको साथ पाएको छु’, उनले भने ।


हिमालय नेपाली इभेन्टस् प्रालीको आयोजनामा भएको कार्यक्रममा टिकाले ‘बार प्रिये बार’, ‘तिमी मेरै’, ‘झरना पानी’, ‘यो देशलाई’, ‘सैलुङे गाउँकी’, ‘मैलेभन्दा माया दिने’ बोलका गीत प्रस्तुत गरेका थिए । पवनवाङ लामाको ब्याण्ड संयोजनमा तवलामा कुमार महाराज र भुवन गन्धर्व, लिड गितारमा देवासिस मोत्तान, बेस गीतारमा अनुप दास, बांसुरीमा गोपालदेव घतानी, किवोर्डमा रुपमसिंङ गुरुङ, अक्टोप्याडमा रुपेशसिंह गुरुङले टीकालाई बाद्यबादनमा साथ दिएका थिए । कार्यक्रममा दुर्गा परियार, इन्दिरा गोले, सुरेश लामा, अनिल लामालगायतका गायकगायिकाले टीकाद्धारा संगीतवद्ध गीत गाएका थिए भने फिमफेदी गाइजले नृत्य प्रस्तुत गरेको थियो ।

Comments