‘मिसेस् नेपाल युनिभर्स–२०१८’ को उपाधि मनिषा डंगोल श्रेष्ठले पाएकी छन् । ई– प्लानेट प्रालिले आयोजना गरेको कार्यक्रममा मनिषाले यो उपाधि पाएकी हुन् ।
मनिषाले अब फिलिपिन्सको मनिलामा आगामी डिसेम्बरमा हुने ‘मिसेस् युनिभर्स–२०१८’मा सहभागिता जनाउने छिन् । ‘मिसेस् युनिभर्स–२०१८’ ३ डिसेम्बरदेखि १० तारिखसम्म फिलिपिन्समा सञ्चालन हुँदैछ ।
‘मिसेस युनिभर्स–२०१८’मा सहभागी हुन जानुपूर्व मनिषालाई कोरियोग्राफर रोजिन शाक्यले अन्तर्राष्ट्रिय प्रतियोगिताबारे अभिमुखिकरण र प्रशिक्षण प्रदान गर्नेछन् ।
यसअघि पनि ई–प्लानेटकै संयोजन र व्यवस्थापनमा मीना घिमिरेले ‘मिसेस युनिभर्स–२०१३’ मा सहभागिता जनाएकी थिइन् ।
मीना सो प्रतियोगितामा ‘मिसेस कन्जिन्यालिटी अवार्ड’ जित्न सफल भएकी थिइन् । आफूलाई फिलान्थ्रोपिष्ट भन्न रुचाउँने मनिषा डंगोल दुई सन्तानकी आमा हुन् । एक दशकभन्दा लामो समयदेखि उनी विशेषतः विभिन्न तरिका र प्रक्रियाबाट महिला सशक्तिकरणमा संलग्न हुँदै आएकी छन् ।
‘मिस अस्कोल–१९९७’का रुपमा परिचय बनाइसकेकी मनिषा हाल लन्डनमा बस्दै आएकी छन् । लन्डनमै लन्डन फेसन हाउस संचालन गर्र्दै आएकी उनले सो फेसन हाउसमार्फत् नेपाली फेसन, कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तारित गर्न सक्रिय भूमिका निर्वाह गर्दै आइरहेकी छन् ।
लन्डन फेसन हाउसको काठमाडौं खुसिबुमा पनि शाखा छ । लन्डन फेसन हाउसको क्रिएटिभ हेड एवं निर्देशक रहेकी मनिशा नेप्लीज् युथ क्लबकी संस्थापक अध्यक्ष, पासा पुचः गुठी युके उपाध्यक्ष रहेकी मनिशाले लन्डन फेसन हाउसको ब्यानरमा मिसेस् नेपाल युके, मिस टिन नेपाल युके तथा मिस लिटिल नेपाल युकेको आयोजना गर्दै आएकी छन् ।
एनआरएनए युकेको पहिलो युथ को–र्डिनेटरसमेत रहिसकेकी उनी एनआरएनएमा विभिन्न रुपमा सक्रिय रहँदै आएकी छन् । हाल उनी लन्डन फेसन हाउसकै ब्यानरमा ‘टुडेज वुमन’ नामक महिलाहरुमा समर्पित अन्तर्राष्ट्रिय म्यागाजिनको तयारीमा जुटेकी छन् ।