लोपोन्मुख जीवनबाट प्रभावित एउटा फेसन शो (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७५, ७ जेष्ठ सोमबार
no img

काठमाडौं, ७ जेठ । फेसन सिर्जना गर्नेहरुका लागि सिमितता हुँदैन । फेसनमा देखिने नयाँ प्रयोग, अकल्पनीय शैली यसैको उपज हुन् । गएको शनिबार बौद्धस्थित हायात रिजेन्सी होटलमा देखापरेका दृश्यहरु पनि यस्तै थिए ।


१६ वटा पहिरनका स्वरुपहरुको भव्यता, तिनमा देखिएको अनुपम कला, सीप र मिहेनत प्रशंनीय थियो । ती सबै पहिरनका स्वरुपहरु प्रभावित थिए लोपोन्मुख र खतराको सूचीमा परेका जीवजन्तु, बनस्पति, पंछीलगायतका जीवनबाट ।
हिमालयन मुनाल, इन्डियन फ्याइङ फक्स ब्याट, रेन्बो लोरिकेट, सारस क्रेनदेखि स्नो लियोपार्ड, व्हाइट ब्याट फ्लावरसम्मबाट प्रेरित भएका पहिरनका स्वरुपहरुले सो फेसन कार्यक्रमको भव्यता थपेको थियो ।


प्रसंग हो, नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङमा स्नातकको पढाईमा अध्ययनरत १३औं ब्याचका ६३ जना विधार्थीहरुको अन्तिम परीक्षाको महत्वपूर्ण पाटोका रुपमा प्रस्तुत भएको सेरा डि स्टिलिष्टा शीर्षकमा संचालन भएको फेसन शोको ।
सृजनात्मक सोच र कल्पनाशीलताले सजिएका यी पहिरनहरुले फेसन पारखी दर्शकहरुलाई फेसनको नौलो स्वादले मन्त्रमुग्ध बनाएको त थियो नै साथै लोपोन्मुख जीव जन्तुको संरक्षणको आवश्यकता बारे पनि सचेतना प्रदान गरेको थियो ।


विद्यार्थी डिजाइनरहरु स्वयंले आयोजना एवं व्यवस्थापन गरेको सो ग्राजुएसन फेसन शोमा अन्य चार वटा सिक्वेन्स पनि प्रस्तुत गरिएका थिए ।
कार्यक्रमको प्रमोशनका लागि फोटोशुटमा प्रयोग भएका पहिरनका मोडलहरु सहित नमूना कलेजका संस्थापक प्रिन्सिपल एवं अग्रणी नेपाली फेसन डिजाइनरका रुपमा परिचित ज्ञानी शोभा तुलाधरको रनवेमा उपस्थिति सँगै अगाडि बढेको उक्त फेसन शो रोजिन शाक्यको कोरियोग्राफीमा संचालन भएको थियो ।


फेसन शोमा दश जना युवा मोडलसहित तीन दर्जन भन्दा बढी मोडलहरुले ¥याम्पमा ओहोर दोहोर गरेका थिए । कार्यक्रममा यस वर्ष मिस नेपाल विजेताहरुको पनि विशेष उपस्थिति थियो ।

फेसन शोको प्रारम्भमा हाकु पटासि फ्लेवरबाट प्रभावित पहिरनहरु बाट भएको थिाये । त्यस पछि अहिले प्रचलनमा रहेको कलर ब्लकिङ शैलीबाट प्रभावित रंगीन पहिरनहरुको आकर्षण थियो । गोल्ड एण्ड ग्लिटर सिक्वेन्समा भने फ्लोर लेन्थ गाउन, ब्लेजर तथा डिनर ज्याकेट, कोट आदिको सुनौला रंगमा ग्लिटर मिश्रित पहिरनहरुको प्रधानता थियो । ट्रान्सफोरमेसन सिक्वेन्स अलिक् पृथक थियो । जसमा प्रारम्भ मोडलहरु स्कर्ट लगायतको छोटा पहिरनमा देखिएका थिए भने तिनै पहिरनहरु अन्ततः फ्लोर लेन्थ पहिरनहरुमा बदलिएका थिए । ट्रान्सफोरमेसन स्टाइलबाट एउटै पहिरन शैलीमा दुई स्वरुपको नमूनालाई डिजाइर एवं मोडलहरुले आकर्षक एवं मनमोहक तरिकाले प्रस्तुत गरेका थिए ।

 

 

Comments