आँखै लोभिने दृश्य सहित रिलिज भयो “हेप्पी डेज” को “सुस्त यो मन”
screennepal
प्रकाशित: २०७५, १३ बैशाख बिहीबार
no img

स्क्रिननेपाल डटकम :
बैशाख १४ गते देखि देशभर प्रदर्शन हुन लागेको चलचित्र “हेप्पी डेज” को तेस्रो नया गीत प्रदर्शन मितिको मझधारमा रिलिज गरिएको छ । चलचित्र प्रदर्शनमा आउन मात्र २ दिन बाँकी रहँदा निर्माण पक्षले चलचित्रको “सुस्त यो मन” बोलको बिल्कुलै सुमधुर गीत रिलिज गरेको हो । एक हिसाबले यो गीत चलचित्रको मुख्य पाटो नै देखिन्छ । गीतको शब्द संगीत निकै अब्बल छ । नरेश भट्टराईको शब्द रहेको गीतमा ताराप्रकाश लिम्बुको संगीत र दीपा लामा र ताराप्रकाश लिम्बुकै स्वर समावेश रहेको छ ।

गीतको भिडियो निकै आकर्षक रहेको छ । विदेशको रमणीय दृश्यमा यस गीतको छायांकन गरिएको छ । हुन त चलचित्रको ९५ प्रतिशत भन्दा बढी छायांकन नेपाल बाहिर नै गरिएको छ । पटक पटक प्रदर्शन मिति सारिएको यस चलचित्र अन्ततः बैशाख १४ मा प्रदर्शन हुने भएको हो । चलचित्र “हेप्पी डेज” संगै अर्को चलचित्र “कोहलपुर एक्सप्रेस” पनि रिलिज हुदैछ । दुवै चलचित्रको आफ्नै विशेषता रहेको छ तर नियालेर हेर्ने हो भने हेप्पी डेज लाई लामो समय देखि नै दर्शकहरुले पर्खिरहेको देखिन्छ । यस हिसाबले पनि चलचित्र “हेप्पी डेज” को सुरुवात निकै उत्कृष्ट हुने अनुमान लगाउन सकिन्छ ।

निर्माण पक्षले केहि दिन अगाडी मात्र रथ यात्रा गर्दै उपत्यका भित्र चलचित्रको फरक तरिकाले प्रचारप्रसार गरेको थियो । हुन त फरक काम गर्ने हिसाबले नै निर्देशक तथा निर्माता मिलन चाम्सको नेपाली चलचित्र क्षेत्रमा छुट्टै परिचय बनेको छ । रथ यात्रामा नायिका प्रियंका कार्की र नायक संजय गुप्ताको साथमा निर्माण टिम सहभागी रहेका थिए । तर नायक दयाहाङ राई भने उक्त रथ यात्रामा सहभागी रहेनन् । निर्देशक मिलन चाम्सको अनुसार नायक दयाहाङ राई शुटिङको कारणले प्रोमोसनमा आउन नसकेको बताए ।

निर्देशक तथा निर्माता चाम्स चलचित्र “हेप्पी डेज” लाई लिएर निकै आशावादी देखिएका छन् । आफुले उत्कृष्ट चलचित्र बनाएर दर्शक माझ लिएर आएको र अवश्य पनि दर्शकहरुले आफ्नो काम रुचाउनु हुने विश्वास उनले ब्यक्त गरेका छन् । “वीर विक्रम” चलचित्रको सफलता पछि पछिल्लो समय मिलन चाम्स एक ब्रान्डकै रुपमा स्थापित भएको देखिन्छ । यस हिसाबले पनि “हेप्पी डेज” हेर्न दर्शकहरुको भिड लाग्ने अनुमान सबैलाई यति बेला छ ।

चलचित्र “हेप्पी डेज” मा दयाहाङ राई , प्रियंका कार्की , संजय गुप्ता , दिया पुन , विक्की जोशी , मोनिका गुरुङ , रुपा पुन , रितेश चाम्स , जेन बकल , हुप थापा , जेनीहा लिम्बु , गिरिराज घिमिरे , क्षितिज सुबेदी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको प्रस्तुति रहेको चलचित्रलाई भवानी शर्मा , हिराल जोशी र मिलन चाम्स मिलेर निर्माण गरेका हुन् । बि.पी खनाल भने चलचित्रका प्रस्तोतकर्ता हुन् । चलचित्रमा यम थापाको स्क्रीनप्ले र सम्राट बस्नेतको द्वन्द निर्देशन रहेको छ | नरेश भट्टराई र दिनेश राउतको शब्द समावेश रहेको चलचित्रमा तारा प्रकाश लिम्बुको संगीत र अर्जुन जिसीको सम्पादन रहेको छ | यस्तै चलचित्रमा राम कुमार केसीको छायांकन र गिरीराज घिमिरे मुख्य सहायक निर्देशन रहेको छ | चलचित्रमा मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

हेर्नुस भिडियो :

Comments