काठमाडौं, ९ बैशाख । ‘एसिया मोडल फेस्टिभल फेश अफ नेपाल’ शीर्षकमा राजधानीमा आयोजित कार्यक्रममा विक्रम आदित्य महासेठ र पूजा श्रेष्ठले उपाधि पाएका छन् ।
‘फेश अफ नेपाल–२०१८’ घोषित दुवै जनाको अनुभव, उपलब्धी तथा मोडलका रुपमा उनीहरुको प्रस्तुति एवं व्यक्तित्वलगायतको पक्षलाई मुल्यांकन गरिएको थियो । विक्रम र पूजालाई कार्यक्रम आयोजक संस्थाका अध्यक्ष बादल साबु र गत सिजनका विजेता सन्दिपा लिम्बुले पुरस्कार प्रदान गरेका थिए ।
विक्रम यसअघि ‘मोडल हन्ट नेपाल’ सिजन तीनका विजेता हुन् । विक्रम र पूजा दुवै जना मोडलिङमा सक्रिय छन् । ‘एसिया मोडल फेस्टिभल फेश अफ नेपाल’ कार्यक्रमको यो तेस्रो संस्करण हो । कोरिया मोडल एसोसिएसनको सहकार्य पूणे फेसन वीकले यो कार्यक्रम गर्दै आएको छ ।
‘एसिया मोडल फेस्टिभल फेश अफ नेपाल’का रुपमा चयन भएका विक्रम र पूजा यही अप्रिल २५ देखि मे महिनाको ६ तारिखसम्म दक्षिण कोरियामा संचालन हुने एशियाको सबैभन्दा वृहत् र चर्चित मानिएको ‘एसियन मोडल फेस्टिभल’मा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् ।
कार्यक्रममा नेपालसहित एशिया क्षेत्रका मंगोलिया, कोरिया, भारत, चीन, इन्डोनेसिया, फिलिपिन्स, थाईल्याण्ड, जापान, भियतनाम, मलेशिया, हङकङलगायत २७ मुलुकका मोडलहरुको उपस्थिति रहने बताइएको छ ।