बहुप्रतिक्षित चलचित्र “हेप्पी डेज” अब चैत्रमा रिलिज हुदै
screennepal
प्रकाशित: २०७४, २ माघ मंगलवार
no img

स्क्रिननेपाल डटकम :
माघ १२ गते देखि सारिएको यस बर्षको बहुप्रतिक्षित चलचित्र “हेप्पी डेज” को नया रिलिज मिति तय भएको छ । सम्पूर्ण तयारी भईसकेको थियो र त्यहि अनुरुप प्रोमोसन पनि व्यापक नै भईरहेको थियो । तर अचानक चलचित्रको रिलिज मिति सारिएको खबर आयो । धेरैको मनलाई यो खबरले बेखुशी बनायो । चलचित्र पछाडी हुनुको कारण थियो बलिउड चलचित्र पद्मावत । चलचित्र “पद्मावत” चलचित्र संग डराएर होइन कि आफ्नो चलचित्रले सिनेमा घरमा कम शो पाउने कारणले गर्दा चलचित्र “हेप्पी डेज” लाई केहि पछाडी सारिएको निर्देशक तथा निर्माता मिलन चाम्सले स्पष्टीकरण दिइसकेका छन् । यस्तै अब “हेप्पी डेज” चैत्र १६ गते देखि रिलिज हुने पक्का भएको छ । अब यो मिति देखि भने चलचित्र कतै पनि नहल्लिने निर्देशक तथा निर्माता चाम्सले बताए ।

कत्तिको मनमा त चलचित्र अर्को बर्ष प्रदर्शनमा आउने हो कि भनेर शंका पनि थियो होला तर अब सबै जिज्ञासा र शंका हटेको छ । निर्माण पक्षले यसै बर्ष नै “हेप्पी डेज” लाई प्रदर्शनमा लिएर आउने भएको छ । नेपाली सिने बजारमा अझै पनि बलिउड चलचित्र बर्चस्व रहेको निर्देशक मिलन चाम्स बताउछन् । यो क्रमलाई सबैजना मिलेर हटाउनु पर्ने उनको भनाई छ । नेपाली चलचित्रमा राष्ट्रियता जोडिएको हुँदा सबैले पहिलो प्राथमिकतामा नेपाली चलचित्रलाई राख्नु पर्ने जरुरी रहेको कुरा पनि उनले प्रष्ट रुपमा बताए । होइन भने हरेक नेपाली चलचित्र निर्माताले राम्रो चलचित्र निर्माण गर्दा पनि सधै यसरी नै बलिउड चलचित्र संग डराउनु पर्ने र पछाडी सर्नु पर्न अवस्था आईरहने उनले तर्क दिए ।

चलचित्र “हेप्पी डेज” मा दयाहाङ राई , प्रियंका कार्की , संजय गुप्ता , दिया पुन , विक्की जोशी , मोनिका गुरुङ , रुपा पुन , रितेश चाम्स , जेन बकल , हुप थापा , जेनीहा लिम्बु , गिरिराज घिमिरे , क्षितिज सुबेदी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको प्रस्तुति रहेको चलचित्रलाई भवानी शर्मा , हिराल जोशी र मिलन चाम्स मिलेर निर्माण गरेका हुन् । बि.पी खनाल भने चलचित्रका प्रस्तोतकर्ता हुन् । चलचित्रमा यम थापाको स्क्रीनप्ले र सम्राट बस्नेतको द्वन्द निर्देशन रहेको छ | नरेश भट्टराई र दिनेश राउतको शब्द समावेश रहेको चलचित्रमा तारा प्रकाश लिम्बुको संगीत र अर्जुन जिसीको सम्पादन रहेको छ | यस्तै चलचित्रमा राम कुमार केसीको छायांकन र गिरीराज घिमिरे मुख्य सहायक निर्देशन रहेको छ | चलचित्रमा मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

हेर्नुस भिडियो :

Comments