प्रयासरत गायिका मिलन | मोडलिङ हुँदै गीतकार पनि… !
screennepal
प्रकाशित: २०७४, २७ मंसिर बुधबार
no img

बहुभाषामा गीत गाउँदै आएकी मिलन गायनमा मात्र नभएर आफूसँग भएका हरेक कलालाई प्रस्तुत गर्ने जमर्को गर्दै आएकी छन् । यसको जिवन्त उदाहरण हो, मोडलिङ तथा गीतिकारिता । उनले ‘प्रयास गरौं’ भनेरै पहिलोपटक आफ्नो गीतको भिडियोमा मोडलिङ गरिन् । 

 

-एमपी सुब्बा

काठमाडौं, २७ मंसिर । चर्चित गायिका हुन् मिलन अमात्य । तर,  यति भन्दैमा पुग्दैन मिलनलाई किनकि, आफ्नो माधुर्य गला र सुन्दर रुपका कारण दर्शक तथा श्रोतामाझ लोकप्रिय मिलन गायिका मात्र नभएर मोडल हुँदै गीतकार समेत बनेकी छन् । त्यसैले अब मिलनलाई गायिका, मोडल तथा गीतकार भन्नु पर्नेछ ।
पछिल्लो समय आफ्नै गीतमा अभिनय गरेर मोडलमा आफूलाई दर्ज गराएकी यी चर्चित गायिकाले एउटा यस्तो प्रेमभावमा गीत लेखेकी छन् ।
‘मन रेशमको सानो धागो रातो यसको रंग
तिम्रो मायाको रंग मिसियो भरियो मेरो अंग’
हो, यही हो मिलनको शब्दलिपीको एक हरफ । जुन गीतको संगीत कमल खत्रीले गरेका छन् । हालै रेकर्डिङ गरिएको यस गीतलाई ‘मिलन–२’ एल्बममा सुन्न सकिनेछ । हाल आफ्नो सोलो एल्बम ‘मिलन–२’ ल्याउने अन्तिम तयारीमा रहेकी मिलनले भनिन्, ‘पहिलोपटक गीत लेख्ने प्रयास गरेकी हुँ । हेरौं, श्रोता तथा दर्शकले कतिको रुचाइदिनुहुन्छ ।’


हुन त बहुभाषामा गीत गाउँदै आएकी मिलन गायनमा मात्र नभएर आफूसँग भएका हरेक कलालाई प्रस्तुत गर्ने जमर्को गर्दै आएकी छन् । यसको जिवन्त उदाहरण हो, मोडलिङ तथा गीतिकारिता । उनले ‘प्रयास गरौं’ भनेरै पहिलोपटक आफ्नो गीतको भिडियोमा मोडलिङ गरिन् । त्यसमा उनी सफल पनि भइन् अर्थात् मिलनको गायन जस्तै मोडलिङ र अभिनयलाई पनि दर्शक तथा श्रोताले रुचाए ।
माधुर्य स्वर र सुन्दर रुपकी धनी मिलनले गायन तथा अभिनयमा त जादु नै छर्दै आएकी छन् । त्यस्तै, पछिल्लो समय गीति लेखनलाई पनि उनले ‘प्रयास’ भनेकी छन् । तर, उनको पहिलो शब्दलिपी गीति निकै सुन्दर बनेको छ । त्यसैले अबका दिनमा यी गायिका कुसल गीतकारका रुपमा समेत चिनिने पक्का छ ।
यहाँसम्म त ठीकै छ । गायन, मोडलिङ र गीति लेखनसँगै अब कुन विधामा प्रयास गर्ने त ? मिलन भन्छिन्, ‘सकेसम्म त सबै विधामा प्रयास गर्ने हो । विस्तारै संगीत कम्पोज पनि गर्नुपर्ला ।’ अवश्य पनि किनकि, एक कुसल गायिकाले संगीत कम्पोज गर्नु कुनै कठिनाइ हुन्न । न त गीति लेखनजस्तो नै संगीत कम्पोज गाह्रो छ ।
त्यसैले अबका दिनमा मिलनलाई संगीत र कलाका हरेक विधामा दर्शक तथा श्रोताले पाएमा अचम्म मान्नु पर्दैन किनकि, उनी हरदम प्रयासरत छिन् । उनको ध्येय छ, गायन, गीति लेखन, अभिनय र संगीत कम्पोज पनि आफै गर्न सकुँ । तर, अहिलेसम्म उनले म्युजिक भिडियो पनि आफै निर्देशन गर्छु चाहिँ भन्न भ्याएकी छैनन् । र, निर्देशन गरिहाले पनि अनौठो हुनेछैन । यी गायनकी प्रतिभाशाली गायिकालाई दर्शकले पनि हरेक विधामा हेर्न र सुन्न चाहन्छन् ।

Comments