भुवनले ‘सम्मान मेरो’ सार्वजनिक गर्दा सत्यमोहन सम्मानीत
screennepal
प्रकाशित: २०७४, २४ श्रावण मंगलवार
no img

काठमाडौं, २४ साउन । गायक तथा संगीतकार भुवन सुप्तिहाङ राई शनिबार धेरै खुसी त केही हतास देखिएका थिए । कार्यक्रममा उपस्थित पाहुनाहरुको स्वागतमा हतास देखिएका उनी आफ्नो पाँचौ एल्बम सार्जजनिक गर्न पाउँदा भने औधि खुसी थिए । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, जहाँ गायक भुवनको पाचौँ एल्बम ‘सम्मान मेरो’ सार्वजनिक हुँदैथियो ।
गायक तथा संगीतकार भुवनको एल्बमलाई बाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीलगायतले लोकार्पण गरे । ११ वटा गीत समेटिएको ‘सम्मान मेरो’को लोकार्पणमा सत्यमोहनका अलावा गीतकार बुद्धवीर लामा, पत्रकार डब्बु क्षेत्री र धावक बैकुन्ठ मानन्धर पनि अतिथिका रुपमा सहभागी थिए । कार्यक्रममा प्रमुख अतिथि सत्यमोहनलाई गायन भुवनले आफ्नो कम्पनीको तर्फबाट नगदसहित सम्मान गरेका थिए ।


कार्यक्रममा बोल्दै संस्कृतिविद् जोशीले भुवनको गायनको प्रशंसा गरे । जोशीले भने, ‘सम्मान मेरोमा एकदमै राम्रा–राम्रा गीत छन् । भुवनले यस एल्बममा केही फरक दिन खोजेका छन् । म भुवनको गायनकलाको तारिफ गर्छु ।’ उनले यसअघिका एल्बमबारे आफूलाई थाहा नभएको बताउँदै ‘सम्मान मेरो’ भुवनको गायनमा कद बढाउँने विश्वास व्यक्त गरेका थिए । गीति संग्रह लोकार्पणका अवसरमा भुवनले आफ्ना संघर्ष र अनुभूति उपस्थितमाझ साटेका थिए ।


कार्यक्रममा गीति संग्रहसँगै एल्बममा समावेश दुई गीतको भिडियोसमेत प्रिमियर गरिएको छ । कार्यक्रममा ‘आउँदो रैछ जिन्दगीमा यस्तो मोडहरु’ र ‘आइडी छ कि छैन बहिनीे’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो ।
एल्बम ‘सम्मान मेरो’को ११ गीतमै भुवनको स्वर र संगीत रहेको छ भने विश्वकाजी राई गोपाल दाहा, बुद्धवीर लामा, जितेन्द्र रसिक, अनोज रोका, मुकेश राई, प्रेम सुब्बा चेम्जोङ, जेवी संयोगी र दकिला लामाको शब्द रहेको छ । ‘तिमीले संसार जित्यौभन्दा म धेरै खुसी भएँ’ बोलको गीत भने भुवन आफैँले लेखेका छन् ।
२०६० सालदेखि नेपाली सगीतिक क्षेत्रमा निरन्तर सक्रिय भुवनले हालसम्म ३ सय ५० गीतमा संगीत भरिसकेका छन् भने चलचित्रका गीत र फुटकर गरी ५ सय गीतमा स्वर दिएका छन् । यसअघि उनका ‘तिम्रो माया’ (२०६०), ‘सजेसन’(२०६५), ‘मायाको फूल’ (२०६७), ‘बदनाम’ (२०६९) गीति संग्रह आइसकेका छन् । यहाँसम्म आइपुग्दा भुवनले देशका अलावा विभिन्न देशमा पनि आफ्नो सांगीतिक प्रस्तुती दिइसकेका छन् । उनी पछिल्लो समय गायनमा मात्र नभएर संगीतमा पनि उत्तिकै व्यस्त छन् ।

 

Comments