काठमाडौं, २१ साउन । गायक तथा संगीतकार सुगम पोखरेलले आफ्नो सातौं गीति एल्बम ‘श्वेत हंसिनी’मा समावेश हुने नयाँ गीत दर्शन’को भिडियो सार्वजनिक गरेका छन् ।
गीतले ईश्वरलाई खोज्दै हामी कहाँकहाँ धाउँछौँ तर ईश्वर हरेक मानिसमा जीवित हुन्छन् भन्न खोजेको छ । लाखौंको भेटी, मिठाई र दूध चढाइन्छन् ईश्वरलाई भनेर, तर त्यसमध्ये अलिकति मात्रै पनि दिनदुःखी र आवश्यकतामा परेकालाई सहयोगस्वरूप दिन सकियो भने साँचो धर्म त्यही हुने गीतको भावार्थ छ ।
सुगम पोखरेलको ‘दर्शन’लाई मनिष बशिष्ठले लेखेका हुन् । गीतमा संगीत सुगम आफैले भरेका छन् । संगीत संयोजन शैलेन्द्र प्रधानको छ । उत्सव दाहालले खिचेको र विकाश धमलाले सम्पादन गरेको म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् । अभिनयमा रंगमञ्चका कलाकार सफर पोखरेलका साथमा निर्मल दाहाललाई देख्न सकिन्छ । गीतलाई पशुपति क्षेत्रमा छायांकन गरिएको छ ।