काठमाडौं, १४ साउन । नेपाली बाजा भएर पनि ओझेलमा परेको मादलको संरक्षण र प्रवर्धनका लागि सम्बन्धित विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । ‘लोकसंस्कृति जोगाऔं, हाम्रो चिनारी बचाऔं’ नाराका साथ बिहिबार काठमाडौंमा सम्पन्न मादल कार्यशाला गोष्ठीमा यस्तो चिन्ता व्यक्त गरिएको हो । लोक श्रष्टा तथा साधक कल्याण शेरचनको ७१ औं जन्म जयन्तीको अवसरमा सांस्कृतिक र कल्याण शेरचन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौको जमल स्थित सांस्कृतिक संस्थानमा ‘नेपाली संगीतमा मादलको ताल र बोलको प्रयोग’ विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
सो गोष्ठीमा बक्ताहरुले मादलको महत्व, नेपाली संगीतमा यसको प्रयोग र मादलको सँरक्षण बारे आफ्ना भनाई राखे । मादलको प्रयोग घट्दै गएको भन्दै यसलाई जोगाएर नेपाली संगीतमा धेरै भन्दा धेरै मादलको प्रयोगका लागि उनीहरुले आह्वान गरे ।
कार्यक्रमको उद्घाटन वरिष्ठ संगीतकार तथा पाठ्यक्रम विकास केन्द्र,संगीत विशेष समितिका अध्यक्ष, दिपक जंगमले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाले नेपाली वाद्यको लोकप्रिय बाजा तथा राष्ट्रिय सिम्बोलको रुपमा अन्तराष्ट्रियस्तरमा समेत लोकप्रिय भईसकेको मादलको बारेमा अझै पनि धेरै कन्फ्यूजन छ भन्नुभयो । उहाँले अझै पनि धेरै समस्याहरु र यसको बारेमा जानकारी हामीलाई छैन भन्दै यसको समस्याको पहिचान गनुपर्ने अहिलेको आवश्यकता भएको औल्याउनु भयो ।
कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले सहभागीलाई स्वागत गर्दै नेपाली लोक संस्कृतिको गायन, प्रवर्धनमा दिवँगत लोक गायक कल्याण शेरचनको अतुलनीय योगदान रहेको बताउनु भयो । गायक शेरचनको मादल सम्बन्धि गोष्ठी र राष्ट्रिय मादल बादन प्रतियोगिता गर्ने सपना जिवित हुँदा पुरा नभएकाले उहाँको ७१ औं जन्मजयन्तीमा यो कार्यक्रम आयोजना गरिएको थापाले बताउनु भयो ।
कार्यक्रममा संगीतार एवं गायक प्रदीप बोम्जनले ‘नेपाली संगीतमा मादलको ताल र बोलको प्रयोग’ बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो । सो कार्यपत्रमा मादलको उत्पत्ति, यसको तालहरुमा प्रयोग, विश्व तथा दक्षिण एशिया क्षेत्रमा मादलको अभ्यास र प्रयोग, मादलको बर्तमान अबस्था र भविष्यबारे उल्लेख गरिएको थियो । यस्तै मादलको प्रकार, मादलसँग अरु बाजाको सम्बन्ध र यसका तालका प्रकारहरु बारे पनि उहाँले कार्यपत्र मार्फत जानकारी गराउनु भयो ।
उहाँको कार्यपत्रमाथि टिप्पणी गर्दै अग्रज संस्कृतिविद् एवं चलचित्र निर्देशक चेतन कार्कीले मादलको उत्पत्ति र यसको प्रयोगबारे अझ बिस्तृत अध्ययन गरिनुपर्ने बताउनु भयो । यसलाई मगरको बाजा भनेर प्रचार गरिए पनि त्यसको पुष्टी नभएको भन्दै मादलको सम्बन्ध अरु छालाको बाजाहरुसँग कस्तो छ भन्ने बारे पनि अध्ययन गर्नु पर्ने आबस्यक्ता उहाँले औंल्याउनु भयो । मादललाई ६ तालमा मात्र हैन, सबै तालमा बजाउन सकिने पनि उहाँले जिकिर गर्नु भयो ।
यस्तै मादलका विज्ञ एवं वादबादक न्हुच्छेबहादुर डँगोलले नेपाली संगीतमा मादलको सम्बन्ध बारे प्रकाश पार्नु भयो । उहाँले मादललाई अन्तराष्ट्रिय क्षेत्रमा पु¥याउँदै यसलाई गिनिज बुक अफ वल्र्डमा रेकर्ड राख्न सकिने पनि उहाँले बताउनु भयो ।
यस्तै कार्यपत्रमा टिप्पणी गर्दै अर्जुन चैनपुरे, खर्क बहादुर बुढा, प्रेमदेब गिरीले पनि मादलको महत्वबारे प्रकाश पार्नु भयो ।
कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या. पूर्ण कुमार गुरुङ ह्याल्मोले नेपाली लोक सँगीतमा कल्याण शेरचनको योगदानको चर्चा गर्दै मादलको संरक्षण र विकाशका लागि सांस्कृतिक संस्थानको सहकार्यमा आफुहरुले पोखराबाट काठमाडौं आई मादल सम्बन्धि गोष्ठी र मादल बादन प्रतियोगिता गरेको बताउनु भयो ।
सांस्कृतिक संस्थानको अध्यक्ष उधोग राईले यस्तो सहकार्यलाई अघि बढाउँदै संस्थानले नेपाली गीत,सँगीत। बाद्यबादनको क्षेत्रमा निरन्तर काम गर्ने जानकारी गराउनु भयो ।
बिहिबार दिउँसोबाट ‘राष्ट्रिय खुला मादल बादन प्रतियोगिता’ सुरु भएको छ । सो प्रतियोगितामा मुलुक भरका २२ टिम सहभागी छन् । उनीहरुले प्रतियोगितामा मादल बादन, गायनसँगै नृत्य पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले जानकारी गराए ।