काठमाडौं, २२ असार । गायक रोमी मगरले ‘हाम्रो भाउजु पोईला गई’ बोल गीतको भिडियो सार्वजनिक गरेका छन् । यस गीतमा रोमीकै शब्द तथा संगीत रहेको छ ।
सत्यतथ्य घटनामा आधारित उक्त गीतमा श्रीमानहरु विदेशमा पसिना बगाएर घरमा श्रीमती, बालबच्चाहरुलाई पैसा पठाउँछन् । तर, यता श्रीमतीहरु भने अर्कै केटाहरुसँग मोजमस्ती गरेर पैसा उडाउँछन् र श्रीमान् घर आउँदा श्रीमती पोईला गईसक्छ । भिडियोमा यस्तै समाजमा घटिरहेका समस्यालाई उजागर गरिएको छ । यस गीतको उद्देश्य भनेको आउने दिनमा यस्ता विकृति रोकियोस् र सभ्य र अनुशासित समाज निर्माण होस् भन्ने रहेको गायक रोमीले बताए ।
भिडियोलाई गायक स्वयं मगरले निर्देशन गरेका छन् भने छायांकन र सम्पादन ईशक जबेगुको रहेको छ । गोविन्द प्रभातको कोरियोग्राफि रहेको यस भिडियोमा चर्चित हास्य कलाकार निरु खड्काको साथमा कृष्ण रसाल, दिपेन, सुस्मिता र रोमीको अभिनयलाई देख्न सकिन्छ ।
धनकुटा चौविसे गाउँपालिकामा जन्मेका गायक रोमी मगर पेशाले चित्रकार हुन् । करिब १३ वर्षदेखि संगीत क्षेत्रमा संघर्षरत गायक मगरले २०६१ सालमा पुर्वेली भाका नामक एल्बमबाट संगीयात्रा सुरु गरेका हुन् ।