काठमाडौं, १७ जेठ । गायक तथा गीतकार विरेन्द्र श्रेष्ठको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । पेसाले इन्जिनियर श्रेष्ठले आफ्नो पछिल्लो ‘तिरमिर्र भयो आँखाको ज्योती’ बोल गीतलाई भिडियोमा ल्याएका हुन् ।
समन अधिकारीले निर्देशन गरेको ‘तिरमिर्र भयो…’ गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल पल शाह र सुप्रिया कटवालले अभिनय गरेका छन् । गीतको छायांकन अधिकांश पुर्वको सुन्दर जिल्ला इलाममा गरिएको छ ।
इन्जिनियर तथा गायक श्रेष्ठले दुई दर्जनभन्दा बढी गीतमा स्वर दिइससकेका छन् । सानैदेखि गीतसंगीतमा रहर र इच्छा भएकाले यस क्षेत्रलाई अँगालेको उनले बताए । श्रेष्ठ पछिल्लो समय काबेली हाइड्रो पावरमा संलग्न छन् । उनी उक्त हाइड्रोको प्रोजेक्ट मेनेजर हुन् । यसरी आफ्नो व्यस्तताका बाबजुद पनि श्रेष्ठले गीतसंगीतलाई समय दिँदै आएका छन् । यो नेपाली गीतसंगीत क्षेत्रका लागि खुसी कुरा हो । गायक श्रेष्ठले एल्बमको तयारी गरिरहेको पनि जनाए । श्रेष्ठले चाँडै आफ्नै छोरीको नाममा गीति एल्बम ‘सुचिन्दा’ ल्याउने बताएका छन् ।