कोमलले सार्वजनिक गरिन् सुमन–सन्तोषको ‘साथी’
screennepal
प्रकाशित: २०७४, २२ बैशाख शुक्रबार
no img

बैशाख, २२ काठमाडौं । पत्रकार सुमन पण्डितको एकल रचना तथा संगीतकार सन्तोष श्रेष्ठको एकल संगीत रहेको गीतिसंग्रह ‘साथी’ गीतकार श्रीपुरुष ढकालको प्रमुख आतिथ्यता एवं गीतकार संघ नेपालका अध्यक्ष चुडामणी देवकोटा, गायिका एवं नेतृ कोमल वलीलगायतले सार्वजनिक गरे ।
म्यूजिक खबर डटकमले आयोजना गरेको कार्यक्रममा पत्रकार एवं गीतकार शान्तिप्रियले संचालन गर्दै गीतकार पण्डितसँगको सहकार्यको बारेमा प्रष्ट पारेका थिए । त्यस्तै संगीतकार सन्तोष श्रेष्ठले आफ्नो डेढ दशक लामो सांगीतिक यात्रामा गीतकार पण्डितसँग भएको सहकार्यका बारेमा बताएका थिए ।

suman-&-santosh--sathi-03
संगीत कला पत्रकार संघकी उपाध्यक्ष विनिता मरहठ्ठाले गीतकार सुमन पण्डितको बारेमा बोल्दै नजिकबाट संगत गर्ने मौका मिलेको बताइन् । उनले पत्रकारको परिचयमा आफूले चिनेको व्यक्तिलाई गीतकारको परिचयमा देख्न पाएकोमा खुशी व्यक्त गरेकी थिइन् भने संगीतकार सन्तोष श्रेष्ठको सांगीतिक उचाइको बारेमा चर्चा गरेकी थिइन् ।
त्यसैगरी प्राज्ञ ज्योतिप्रकाश विश्वकर्माले शब्दकार, पत्रकार र मिलनसार व्यक्तिको रुपमा पाएको बताएका थिए भने गायिका कोमल वलीले संगीत क्षेत्रमा म्यूजिक खबर डटकम, सबिता पोखरेल र सुमनको योगदान रहेको बताउँदै सरकारले राम्रो काम गर्नेले हेर्न नसकेको हुँदा त्यो ठाउँमा आफू पुगेको दिन सहयोग गर्ने बताइन् ।
त्यसैगरी गीतकार संघका अध्यक्ष चुडामणि देवकोटाले गीतकार सुमन र संगीतकार सन्तोषको सांगीतिक क्षेत्रमा रहेको योगदानको चर्चा गर्दै साथी एल्बमले सफलता पाउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि श्रीपुरुष ढकालले गीतसंगीतको वर्तमान अवस्था औंल्याउँदै गीत राम्रो लेख्न सके आफैं चर्चाको शिखरमा पुग्ने बताएका थिए । त्यस्तै गीतकार सुमन पण्डितले गीत सिर्जना र एल्बमको सुरुवातदेखिको अवस्था औंल्याउँदै अरुले दिएको धोकाबाट एल्बम सिर्जना हुन पुगेको बताएका थिए ।
साथी एल्बममा ६ वटा गीत समावेश गरिएको छ । नेपाल भएर नै, नजलाइदेउ मुटु, तिमीले सधैं पीडा दियौ, भन्दै होलान् जस्ता गीत समावेश रहेका छन् । जसमा युवराज चौलागार्इं, प्रमोद खरेल, काव्य आचार्य, दुर्गा खरेल, शिशिर योगी र कन्हैया सिंहको स्वर रहेको छ ।

Comments