काठमाडौं, २२ चैत । मोडल तथा अभिनेत्री प्रविन पन्धाक लामो अन्तरालपछि एक लघु चलचित्रमा देखिने भएकी छन् । केही म्युजिक भिडियोलगायत नेपाली चलचित्रहरुमा समेत अभिनय गरिसकेकी प्रविन लिम्बू संस्कृतिमा आधारित गीति लघु चलचित्र ‘ए, सोमिप्मे सुरित सत्थाङलो’मा देखिन लागेकी हुन् । सो लघुचलचित्रको केही दिनअघि राजधानी र आसपासमा छायांकन गरिएको छ । यसलाई लोकेन साँवा लिम्बूले निर्देशन गरेका हुन् ।
निर्देशक लोकेनका अनुसार ‘ए, सोमिप्मे सुरित सत्थाङलो’मा मन पराएको मान्छे पाएरै छाड्ने कि, त्यो मान्छे टुटेरै जाने पराम्परागत लिम्बू संस्कृतिलाई उजागर गरेको छ ।
यासेली योङहाङको शब्द संकलन तथा मनु नेम्बाङ र टीका माक्खिमको स्वर रहेको यस गीति लघुचलचित्रमा प्रविनका आलवा टीका माक्खिम, जसमायाँ चेम्जङ, शबनम माखिम, धनबीर साँवा, राम मादेन, अशेष थोप्रा, चन्द्र काम्बाङ, देशु सुहाङ, घनेन्द्र नेम्बाङ, सुक तुम्रोक र बिकेश लिम्बुले अभिनय गरेका छन् ।
खर्ककुमारी लिबाङ निर्माता रहेको यस लघु चलचित्रमा पटकथा टीका माक्खिम र छायांकन अर्जुन तिवारीको रहेको छ । यस लघु चलचित्रकी मुख्य अभिनेत्री अधिवक्ता समेत रहेकी प्रविनका लागि पहिरन द हाई ल्याण्ड आर्टकी कल्पना योङहाङ र सरु ढाका पसलले तयार गरेको थियो ।
लामो समयपछि अभिनयमा कम्ब्याक गरेकी प्रविनले आफ्नो कला, संस्कृतिमा आधारित भएकाले काम गरेको बताएकी छन् ।