काठमाडौं, २३ फागुन । बौद्यस्थित भुवनडाँडामा रहेको जेनेसिस एकेडेमीको सातौं अभिभावक दिवसमा विभिन्न कलाकार एवं विद्यार्थीहरुको सास्कृतिक प्रस्तुतीसहित मनाइएको छ ।
श्रोता दर्शकले रुचाएका गायक डिजराज पौडेल सैयौं विद्यार्थी एवं अभिभावकका अगाडी जव स्टेजमा देखा परे, सबैले ताली बनाएर उनलाई स्वागत गरे । उनले आफ्नो चर्चित गीत ‘तिमी आउने बाटोमा’, ‘सुनैको दरबार’जस्ता गीत गाउँदा उनको स्वरमा स्वर मिलाउनेहरुको कमी थिएन ।
कुनै समय शिक्षण पेशामा आवद्ध पौडेलले विगत स्मरण गर्दै भने, ‘म गायक हुनुभन्दा पहिले शिक्षक थिएँ । यस्तै कार्यक्रमहरुमा विद्यार्थी भाईबहिनीसँग गाउँदा गाउँदै म गायक बनेको हुँ ।’
कार्यक्रममा सो विद्यालयमा अध्ययनरत दर्जनौं विद्यार्थीले गीत, नृत्य, तेक्वान्दो, वाद्यवादनलगायत विभिन्न कला प्रस्तुत गरी अभिभावकलाई भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रममा अर्को आकर्षण थिए हास्य कलाकार राजेन्द्र गिरी । टेलिसिरियल हर्के हवल्दारमा ‘गुन्द्रुक साँदेर’, टाक्कु टुक्क रिटर्नमा ‘बप माइला’का रुपमा अभिनय गरीरहेका उनले देखाएको जादुमा विद्यार्थीहरु रोमाञ्चित भए । त्यतिमात्रै होइन ‘रुपकी रानी तिमी’ बोलको गीतमा गिरीले प्रस्तुत गरेको नृत्य र जादुको संयोजनलाई विद्यार्थी र अभिभावकले यति रुचाए उनी स्टेजबाट बाहिरिँदा पनि दर्शक दिर्घाबाट ‘वान्स मोर वान्स मोर’ को आवाज गुञ्जिरहेको थियो ।
म्यागासेसे अवार्ड विजेता डा. महाविर पुनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा. पुनले देश विकासमा सरकारमात्रै होइन जनस्तरबाट पनि राम्रो काम गर्न सकिने बताए । स्कुलकी संस्थापक निर्देशक रुषमाया थोकरले विद्यालयको भावी योजना प्रस्तुत गर्दै जेनेसिस एकेडेमीले गरिव एवं असहाय विद्यार्थीले छात्रवृति प्रदान गरी सामाजिक कार्यमा समेत योगदान पुर्याइरहेको बताइन । सो स्कुलले २०७२ सालको विकासकारी भुकम्पपछि बीबीसी साझा सवालले तयार गरेको वृत्तचित्र ‘बाँचेका मान्छेहरु’की उजेली तामाङलाई समेत छात्रवृत्ति प्रदान गरी अध्ययन गराइरहेको छ ।