काठमाडौं, ५ फागुन । भ्यालेन्टाइन डेको अवसरमा त्रिपुरेश्वरस्थित मुड्स लाउन्जमा तयार गरिएको एउटा फेसनमय परिवेशबीच पाँचजना नवप्रवेशी फेसन डिजाइनरहरुले आफ्नो व्यवसायिक उपस्थितिको पहिलो पाइला सारे ।
उत्कृष्ट खड्का, वंशी खड्का, रिया महर्जन, सावना बेगम र अनिता लोहनीले सो फेसन कार्यक्रम आफ्नो फेसन सिक्रेटस्लाई सार्वजनिक गरेका हुन् । नेपाल इन्स्टिच्युट अफ फेसन, नीफको आयोजना तथा आशिष पाण्डेको व्यवस्थापनमा संचालन भएको सो कार्यक्रममा उल्लेखीत डिजाइनरहरुले आ आफ्नो एकल कलेक्सनका साथै सामूहिक कलेक्सन गरी ८ वटा सिक्वेन्स मार्फत् आफ्ना सृजनाहरु सार्वजनिक गरेका थिए । कालो, खैरो, रातो, येलो अकर, अक्वा ब्लु, पिन्क, ग्रीन आदिका विभिन्न शेड्समा खेलिएका पहिरनहरु मुख्य गरी फिटेड, लुज फिटेड, ए लाइन तथा आवर ग्लास सिलहुट्सको प्रधानता रहेका पहिरनहरुले स्थान पाएको उक्त फेसन कार्यक्रममा अर्गानिक कटन, सिफन, लाइक्रा ब्लेन्ड सिफन, नेट, भेल्भेट, रअ सिल्क, प्रिन्टेड जर्जेट लगायतका फ्याब्रिकहरुले प्राथमिकता पाएको थियो ।
नव प्रवेशी डिजाइनरहरुको सीप, क्षमता अभिवृद्धिका साथै फेसन डिजाइनिङ क्षेत्रको व्यवसायिक पाटोलाई विस्तारित गर्न सो कार्यक्रमको आयोजना गरिएको कुरा आयोजक संस्था नीफका प्रबन्ध निर्देशक एवं टेक्सटाइल इन्जिनियर अमित झाले बताएका छन् । उनका अनुसार सोही अनुरुप फेसन सिक्रेट्स कार्यक्रममा पाँच जना नयाँ फेसन डिजाइनरहरुले यो आयोजनामा आफ्नो डिजाइनिङ कला देखाएका हुन् । राति अबेर सम्म आफ्टर पार्टी झुमेको सो कार्यक्रममा अभिनेत्री वर्षा सिवोकोटी, अभिनेता सिड खरेल, इन्टरनेसनल नेपाली मोडल दिपक घिमिरे र अनिता लिम्बु तथा मोडल एवं संचारकर्मी शुभ आचार्य शो स्टपरका रुपमा ¥याम्प प्रस्तुत भएका थिए । कार्यक्रमलाई कलाकार महादेव त्रिपाठी, गायकहरु निर्णय श्रेष्ठ, रवि रिमाल प्रशान्त मिस्ट लगायतका गायकहरुले मनोरञ्जन पूर्ण बनाएका थिए ।
भ्यालेन्टाइन डेको अवसर भएकाले सो फेसन कार्यक्रमको पहिलो अध्यायमा सहभागि पुरुष तथा महिला मोडलहरु जोडीका रुपमा प्रस्तुत भएका थिए । जसमा उनीको पर्फमेन्स र हावभावमा रोमान्स र आत्मीयताको झलक पाइएको थियो । पहिरनहरु पनि युगल जोडीलाई सबै अवसरका लागि सुहाउँदो खालका थिए । कार्यक्रमको मेड इन नेपाल शीर्षकको सिक्वेन्समा भने नेपाली मौलिक फ्याब्रिकमा तयार पारिएका परिहनहरुले प्रधानता प्राप्त गरेको थियो भने अन्तिम सिक्वेन्सलाई रोयल शीर्षक दिइएको थियो । जसमा पहिरनहरु मूलतः राजकीय शैली, सम्पन्नता र चरित्रको चित्रण अनुरुप थिए ।