काठमाडौं, २६ माघ । चलचित्र निर्मात्री एव फेशन डिजाइनर पुनम क्षेत्री गौतम वल्र्ड फेशन परेडले आयोजना गर्ने ‘न्युयोर्क फेशन वीक’ को सिजन तीनमा आफ्नो डिजाइनहरु प्रस्तुत गर्दै्छिन् ।
११ फ्रेबुअरीमा आयोजना हुन लागेको उक्त फेशन शोका लागि नेपालको प्रतिनिधित्व गर्दै उनी अमेरिका पुगेकी छन् । उनले त्यहाँ विभिन्न जनजातीका पहिरनलाई आधुनिक रुप दिइ आफ्ना सिर्जनाहरुमार्फत राष्ट्रियता झल्काउनेछिन् । उनले सो कार्यक्तममार्फत ‘हामी नेपाली एक हौं’ भन्ने एकताको सन्देश दिन खोजेको बताइन् । ‘नेपाल चार जात ३६ वर्णले मिलेको फुलबारीलाई नै आधार बनाई सिंगो देशलाई प्रतिनिधित्व गर्ने मेरो लक्ष्य हो’ उनले भनिन् ।
नेपाली राष्ट्रियता एवं संस्कृतिलाई आधुनिकरण गरि समिश्रण गरिएको उक्त नमुनाहरूलाई अन्तराष्ट्रिय मोडेलहरुले रेम्पमा प्रस्तुत गर्ने छन् । ‘अन्तराष्ट्रिय स्टेजमा जनजातीलाई लिएर यसरी तयार पारिएको सम्भवतः पहिलो फेशन शो हो’ उनले भनिन्, ‘नेपाली कला संस्कृतिको आफ्नै पहिचान होस् भन्ने मेरो उद्देश्य हो ।’