रहेनन् ‘तिरिरी मुरली बज्यो…’ गायक पन्नाकाजी
screennepal
प्रकाशित: २०७३, १२ माघ बुधबार
no img

काठमाडौं, १२ माघ । २०७३ नेपाली सांगीतिक क्षेत्रका लागि क्षतिको वर्ष बनेको छ । यसै वर्ष संगीत क्षेत्रका होनहार व्यक्तित्वहरु गुमाउनु परेको छ । यस्तै, पुराना गायक तथा संगीतकार पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । उनको ताहाचलस्थित निवासमै निधन भएको हो ।

Panna-Kaji
पन्नाकाजीको ‘तिरिरी मुरली बज्यो वनैमा’ गीत चर्चित छ । शरदकुमार शाक्यको शब्द रहेको यस गीतमा पन्नाकाजी आफैंले संगीत र स्वर दिएका थिए ।
विसं १९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका पन्नाकाजी २००७ सालमै रेडियो नेपालमा प्रवेश गरेका थिए । साहित्यकार तथा नाटक निर्देशक बालकृष्ण समको विशेष सिफारिसमा रेडियो नेपालका निर्देशक तारणीप्रसाद कोइरालाले उनलाई गायकको रुपमा जागिर दिएका थिए ।
२००८ सालदेखि रेडियोमा स्थायी नियुक्ति पाएका उनले ०४० सालसम्म त्यहाँ काम गरे । रेडियो नेपालले ०२२ सालमा आयोजना गरेको आधुनिक गीत प्रतियोगीतामा नारायणगोपाल संगीतमा प्रथम भएका थिए भने पन्नाकाजी गायनतर्फ प्रथम भएका थिए । उनले ‘किन–किन तिम्रो तस्बिर‘ र ‘लोलाएका ती तिम्रा आँखा‘ को पुरानो मेलोडी, नौलाखे तारा, एकानी दुवानी, रात यो नबित्ला, लालीगुराँस फुल्यो है लगायत सिर्जना दिएका छन् । आधुनिक, भजन, स्वदेशगान, लोकगीत र नेपाल भाषाका गरी उनका करिब चार सय गीत रेकर्ड भएका छन् ।
पन्नाकाजीका चार छोरा र एक छोरी छन् । दुई पुत्र प्रवेशमान शाक्य र पवित्रमान शाक्य गायन क्षेत्रमै क्रियाशील छन् । उनको बुधबारै टेकु दोभानमा दाहसंस्कार गरिएको छ ।

Comments