काठमाडौं, ३ माघ । सानु तिवारी पेसाले व्यवसायिक हुन् । तर, अब उनी आफ्नो व्यवसायिकसँगै अर्को पनि परिचय थप्दैछन् । सानुले चाँडै गीति एल्बम ‘युनिक’ दर्शक तथा श्रोतामाझ ल्याउँदैछन् । यससँगै उनको परिचय गीतकारसमेत हुनेछ । एल्बमका लागि सबै गीत रेकर्डिङ गरिसकेका गीतकार सानुले भने, ‘अर्को महिना चार वटा म्युजिक भिडियोसहित एल्बम सार्वजनिक गदैछु ।’
गीतकार सानुको एल्बम ‘युनिक’ मा गायक तथा संगीतकार डिडराज पौडेलको एकल स्वर एवं संगीत रहने भएको छ । एल्बममा ६ वटा गीत रहने समेत गीतकार सानुले बताए । सानैबाट गीति लेखनमा सौख र इच्छा भएकाले एल्बम निकाल्न तम्सिएको उनले बताए । ‘पहिले नै एल्बम निकाल्ने सोच थियो’, उनले भने, ‘तर व्यवसायिकतिर लागिएकाले समय नै मिलेन ।’
सानुको एल्बममा म गीत गाउँदिनँ, एक धर्को सिन्दुर, तिवारी भञ्ज्याङ, नक्कली कान्छीको, जवानी जस्ता गीत रहेका छन् । यी गीतहरु निकै अगाडिबाट तयार गरेको उनले बताए । भोजपुर तिवारी भञ्ज्याङका सानुले भोजपुर, खोटाङ, धनकुटा र धरानलाई आधार क्षेत्र बनाएर टेक्का पट्टाको व्यवसायिक गदैै आएका छन् ।