आमा–बुबाको काखमा सधैं सिर्जना गर्न पाउँ : पुष्पा
screennepal
प्रकाशित: २०७३, २३ पुष शनिबार
no img

काठमाडौ, २३ पुस । गीतकार पुष्पा खनालले ८ दशक पार गरिसकेका आफ्ना बाबुआमाको हातबाट एल्बम सार्वजनिक गर्दै बुबा आमाबिना म पूर्ण हुन सक्दिनँ भनिन् । म्यूजिक संचार प्रालिको आयोजना एवं संगीत कला पत्रकार संघको संयोजनमा भएको गीतकार खनालको आधुनिक गीतिसंग्रह ‘अभिनव’ सार्वजनिक कार्यक्रममा बोल्दै जिन्दगीको आरोह अवरोहमा आफ्ना बुबाको जन्मदिन नै बिर्सिएको रहेछु । आज छोरा अभिनवले सम्झाइदिएपछि बल्ल थाहा भयो । दीर्घरोगबाट थलिएकी आफ्नी आमा र बुबाको उपस्थितिमा एल्बम सार्वजनिक गर्न पाउँदा निकै खुशी छु, खनालले भक्कानिँदै भनिन् आमा र बुबाको काखमा यसरी नै सधैं सिर्जना गर्न पाउँ भन्ने लागिरहेको छ ।

avinab

प्रमुख अतिथि संगीत रोयल्टी संकलन समाजका अध्यक्ष संगीतकार सुरेश अधिकारी, विशिष्ट अतिथि संगीतकार समाज नेपालका अध्यक्ष लक्ष्मण शेष, सभापति संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीसहित गीतकार पुष्पा खनालका बुबा आमाको हातबाट उक्त एल्बम सार्वजनिक गरिएको हो । संगीत कला पत्रकार संघको कार्यसमितिलाई नेपाली कागजबाट निर्मित डायरी मायाको चिनो स्वरुप हस्तान्तरण गर्दै सुरुवात गरिएको उक्त कार्यक्रममा संगीतकार संघ नेपालको कल्याणकारी कोषमा रु. ५ हजार हस्तान्तरण गरिएको थियो । संघका महासचिव संगीतकार महेश खड्कालाई चेक हस्तान्तरण गर्दै गीतकार पुष्पाले दुःख र सुखको समिश्रणभित्र अभिनव एल्बमको गीतहरु तयार पारेको बताएकी थिइन् ।
सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठले गीतकार खनालका शब्दले सफलता पाउने विश्वास गर्दै उहाँको सिर्जनात्मक क्षमता देखेर आफू लोभिएको बताएका थिए । त्यसैगरी विशिष्ट अतिथि संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषले गीतकार पुष्पाका गीतहरु वास्तवमै सरलता बोकेको बताउँदै एल्बमले रोयल्टी धेरै उठाउने विश्वास लिएका थिए । कुनै पनि रेडियो टेलिभिजनले अबदेखि नविकरण गर्दा रोयल्टी नबुझाई नविकरण नहुने प्रावधान बनिसकेको हुँदा गीतसंगीतमा अब लगानी गर्न कोही डराउनुहुन्न भन्दै पुष्पाको गीति लेखनको शुभकामना दिएका थिए । संंगीतकार संघको अभियानमा गीतकार खनालले दिनुभएको ५ हजार अब ५ करोड बनेर उहाँसमक्ष नै फर्कनेछ, शेषले भने – संगीतकर्मी आर्थिक अवस्थाकै कारण उपचार त पाउँदैनन् तर आर्यघाटसम्म जानका लागि सहज बाटो नबनेको हुँदा कल्याणकारी कोष सफल बन्नेमा विश्वास व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि सुरेश अधिकारीले गीतकार पुष्पा खनालको लेखनको तारिफ गर्दै राम्रा गीतकार र संगीतकारको मेहनतभित्र अभिनव एल्बम तयार भएको हुँदा सफल हुने विश्वास लिएका थिए । आफ्नो परिवार नै पहिलो प्रेरणाको स्रोत भएको बताउँदै बुबाआमालाई अगाडि ल्याएर एल्बम विमोचन गरेकोमा पुण्य कार्य भएको महसुस अधिकारीले गरेका थिए ।
त्यस्तै कार्यक्रमको सभापतित्व गरिरहेका संगीत कला पत्रकार संघका अध्यक्ष समुन बैरागीले संगीतमा लगानी बौद्धिक सम्पत्तिको खानी भएको बताउँदै गीतकार पुष्पाको शब्द ओझपूर्ण भएको बताएका थिए । बैरागीले खनालका शब्द जति उचाइका छन् त्यस्तै उचाइ एल्बमले पनि प्राप्त गर्ने विश्वास व्यक्त गर्दै कल्याण्कारी कोषको पुण्य कार्यमा संलग्न हुनुभएकोमा हार्दिक बधाईसमेत दिएका थिए । कार्यक्रम म्यूजिक संचार प्रालिका अध्यक्ष एवं संगीत कला पत्रकार संघका उपाध्यक्ष लोकराज अधिकारीले संचालन गरेका थिए ।
कार्यक्रममा संचारकर्मी सरोज कोइरालाले एल्बमभित्रको यो आँखाको पानी कुन छाताले छेकुँ बोलको गीत गाएर सबैलाई मन्त्रमुग्ध बनाएका थिए । कोइरालाकै संगीत र स्वर रहेको उक्त गीतको तारिफ सबैतिरबाट भएको थियो । त्यस्तै नरेन्द्र प्यासीको स्वरमा रहेको त्यसैले म आइनँ बोलको गीतको म्यूजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो ।
एल्बमभित्र त्यसैले म आइनँ, यो आँखाको पानी, तर्की तर्की नहिँड, थोपा थोपा रङ्ग, बोली मिठो मायालुको जस्ता गीतहरु समावेश गरिएको छ । जसमा अन्जु पन्त, सरोज कोइराला, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, रोशनी अधिकारी, गोविन्द मधुर आचार्य, विपना धितालको स्वर रहेको छ भने गोविन्द मधुर आचार्य, सरोज कोइराला, यादव योगीको संगीत रहेको छ । एल्बमलाई सरगम संचार प्रालिले बजार प्रबद्र्धन गरेको छ ।

Comments