नातिकाजी संगीत पुरस्कार घोषणा, यस्तो छ नामावली
screennepal
प्रकाशित: २०७३, ४ पुष सोमबार
no img

काठमाडौं, ४ पुस । नातिकाजी स्मृति समाजको आयोजनामा संगीत महर्षि नातिकाजी श्रेष्ठको ९२ औं स्मृति दिवस तथा पुरस्कार घोषणा गरिएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकूलपति तथा समाजका अध्यक्ष शम्भूजीत बासकोटाले नेपाली सुगम संगीतको आधार स्तम्भका रुपमा संगीत महर्षि नातिकाजीको नाम युगौयुग रहिरहने बताए ।

15
यस वर्ष नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मानबाट भजन शिरोमणि भक्तराज आचार्य र नातिकाजी राष्ट्रिय बिशेष सङ्गीत सम्मान बरिष्ठ गायक तथा सङ्गीतकार कल्याण रिमाल, बरिष्ठ गायिका उर्मिला श्रेष्ठ, बरिष्ठ गायक दीपक खरेल, बरिष्ठ सीतारवादक डा.ध्रुवेशचन्द्र रेग्मी, बरिष्ठ गायक आनन्द कार्कीलाई प्रदान गरिने भएको छ । त्यस्तै, नातिकाजी राष्ट्रिय संगीत पुरस्कार शब्द रचनातर्फ बरिष्ठ गीतकार रमण घिमिरे , संगीततर्फ बरिष्ठ संगीतकार टीका भण्डारी र गायनतर्फ बरिष्ठ गायिका देविका बन्दना र गायक रामकृष्ण ढकाललाई प्रदान गरिने भएको छ । त्यस्तै, नातिकाजी राष्ट्रिय सङ्गीत संयोजन पुरस्कार  बरिष्ठ संगीत संयोजक अमुल कार्की ढली र नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कार   बरिष्ठ संगीतकार आलोकश्रीलाई दिइने भएको छ । उनीहरुले नेपाली संगीतको विकासमा योगदान पु¥याएवापत सो सम्मान तथा पुरस्कार प्रदान गरिएको समाजले जनाएको छ ।
अध्यक्ष बासकोटाले नेपाली सुगम संगीतको संरक्षकका रुपमा नातिकाजीले नेपाली माटोको सुवाससहितको संगीत गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संगीतको महिमा बढाएको आफ्नो धारणा राखेका थिए । उनले नेपाली सुगम संगीतको विकास र विस्तारमा नातिकाजीले पु¥याएको योगदानको चर्चा गर्दै संगीतको राष्ट्रिय विभूतिको रुपमा नातिकाजी रहेको पनि बताए ।
कार्यक्रमको प्रमुख अतिथि बरिष्ठ गीतकार किरण खरेलले नातिकाजीको नाममा राष्ट्रिय पुरस्कार दिइनु राष्ट्रकै सम्मान भएको बताए ।
कार्यक्रममा बरिष्ठ संगीतकार दीपक जंगम, प्राज्ञ उन्नति बोहरा शीला, हिरण्य भोजपुरे, नेपाल नाट्य तथा संगीत प्रज्ञाप्रतिष्ठानका कुलपति भक्तबहादुर श्रेष्ठ (सरुभक्त), बरिष्ठ गीतकार विश्वम्भर प्याकुरेल, बरिष्ठ गीतकार विश्व वल्लभ, बरिष्ठ गीतकार राजेन्द्र थापा, म्युजिक नेपालका प्रमुख सन्तोष शर्मा, नरेन्द्र खडका, उमेश पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

Comments