नेपाली–चिनियाँ कलाकारको ‘संगम’मा ४७ चित्र
screennepal
प्रकाशित: २०७३, ७ मंसिर मंगलवार
no img

काठमाडौं, ७ मंसिर । मानवीय संवेगलाई कलात्मक बिम्बमार्फत जोड्ने कामा सिर्जनाले गर्दछ । मानवीय जीवनका विविध आयामलाई केलाउँदै नेपाली र चिनियाँ कलाकारका कलाकृतिको पाँचदिने प्रदर्शन नेपाल आर्ट काउन्सिलमा मंगलबार समापन भएको छ ।

sanjaya4
नेपाली कलाकार सञ्जय वान्तवा र चिनियाँ कलाकार लिउ तुङ मुईका ४७ थान चित्र प्रदर्शनीमा राखिएको हो । ‘संगम’ शीर्षकमा गरिएको सो प्रदर्शनीले नेपाल र चीनबीचको सम्बन्ध मजबुत बनाउन समेत महत्वपूर्ण भूमिका खेल्ने वान्तवाले बताए ।
ललितकला क्याम्पसमा अध्यापन गरिरहेका वान्तवाले समय र समाजको अवस्थालाई घोडा बिम्बमार्फत हिनहिनाइरहेका छन् । नारीको उन्मुक्त आवाज र घोडाको गतिवेगलाई उनले निकै कलात्मक रुपमा प्रस्तुत गरेका छन् । नेपाली कलामा विगत साढे दुईदशकदेखि निरन्तर लागिरहेका वान्तवाले मानव जाति र समाजका अन्तरविरोधलाई समेत कलात्मक ढंगले चित्रमा भावाव्यक्ति गरेका छन् ।

sanjaya2
त्यस्तै चिनियाँ कलाकार मुईले तीब्र वेगमा रङलाई क्यानभासमा प्रस्तुत गर्दै जीवन गतिशिल रहेको भाव व्यक्त गरेका छन् । उनले नृत्यको गतिमा चित्र बनाउँदै त्यसमा मानवीय जीवनलाई सकारात्मक र गतिवान् रुपमा लिनुपर्ने सन्देश समेत प्रस्तुत गरेकी छन् । उनले नृत्यभावमा बनाएका चित्रसँगै उद्घाटन सत्रमा भावभंगी कला प्रस्तुत समेत गरेका छन् । प्रदर्शनीमा मुईले १७ वटा चित्र राखेका छन् ।
त्यस्तै महिलालाई सृष्टि, प्रकृति र ब्रमाण्डसँग तुलना गर्दै वान्तवाले मानवीय जीवनका संघर्षशिल पाटोलाई बिम्बात्मक रुपमा प्रस्तुत गरेका छन् । यस प्रदर्शनीमा वान्तवाका ३१ वटा चित्र राखिएको छ । साढे दुई वर्षको उमेरदेखि नै पोलियो रोगको कारणका शारीरिक अपाङ्गता भएपनि उनमा नेपाली कला क्षेत्रमा विशिष्ट क्षमतासहित अब्बल कलाकारको रुपमा दरिएका छन् । अन्तर्राष्ट्रिय अपांग दिवस अवसर पारेर चिनियाँ चित्रकार लिउ टङ मुईसँग मिलेर संयुक्त चित्रकला प्रदर्शनी गरेका हुन् । प्रदर्शनीमा उनका चित्रहरूको मूल्य १० हजारदेखि १ लाख रुपैयाँसम्म राखिएको छ ।

Comments